डिसहोमको कर्मचारी बनी रिचार्जमा अफरको बहानामा २९ लाख ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफूलाई डिसहोमको कर्मचारी बताउँदै सर्वसाधारणलाई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङकी २२ वर्षीया आरती सिंखडा, दोलखाका २२ वर्षीय विष्णु कार्की र रामेछापका ४७ वर्षीय असल सिंह तामाङ रहेका छन्। उनीहरू हाल काठमाडौंको टोखा क्षेत्रमा बस्दै आएका थिए।

पक्राउ परेका व्यक्तिहरूले काठमाडौंस्थित डिसहोमको कार्यालयबाट बोलेको भन्दै ग्राहकहरूलाई फोन गर्ने गरेका थिए। उनीहरूले ग्राहकलाई ‘१ वर्षको रिचार्ज गर्दा ४ महिनाको निःशुल्क रिचार्ज अफर’ आएको भन्दै प्रलोभनमा पारी रकम असुल्ने गरेका थिए।

यसरी अफरको बहानामा रकम लिएर ठगी गरेको भन्दै कार्यालयमा प्राप्त निवेदनका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरी टोलीले उनीहरूलाई फागुन २२ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ।

पक्राउ परेकाहरूको साथबाट डिसहोम इन्टरनेट सेवाको रसिद प्याड, प्रविधी इम्पेक्स प्रालिको छाप, आरती सिंखडाको नाममा जारी गरिएको नक्कली परिचयपत्र र विभिन्न व्यक्तिहरूको फोन नम्बर एवं हिसाब राखिएको डायरी बरामद गरिएको छ।