जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ, १० लाख २९ हजार बरामद 


काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिका–७ चागाँथलीस्थित ग्रीन सिटी भिल्लाबाट जुवा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–१३ बस्ने ५१ वर्षीय दिपेश खड्गी समेत २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सात दोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख ७ हजार ९ सय ७५ रुपैयाँ, ३९ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो। 

यसैगरी ललितपुरको ललितपुर महानगरपालिका–७ पाटन सुन्धारास्थित क्याफे एण्ड रेस्टुरेन्टमा जुवा तास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका–७ सुवाल बस्ने ३६ वर्षीय सुमन महर्जन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ३० रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो। 

त्यस्तै, कैलालीको  धनगढी उपमहानगरपालिका–२ स्थित घरमा जुवा तास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–४ बस्ने ६७ वर्षीय पुष्प राज पन्त लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ७० रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।