मालपोत कार्यालय पर्साका तत्कालीन चार अधिकृतसहित ८ जनामाथि भ्रष्टाचार मुद्दा 

२ अर्ब ९३ करोड ६८ लाख हिनामिना


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार अधिकृतसहित ८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अख्तियारका अनुसार २०७०\७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ मा काम गर्ने कर्मचारीहरूले राजस्व आम्दानी नबाँध्ने, प्राप्त रकम बैंकमा नबुझाउने तथा दर्ता किताबमा नक्कली प्रविष्टि गरी सरकारी राजस्व हिनामिना गरेको देखिएको छ।

एउटै रजिस्ट्रेसन नम्बरमा एकभन्दा बढी लिखत पारित गरिएको, कम रकम भएका लिखत मात्र लेखा फाँटमा बुझाइएको र बढी रकम भएका लिखतबाट प्राप्त राजस्व रकम नदेखाइएको पाइएको आयोगले जनाएको छ। 

जसबाट उनीहरूले यसबाट करिब २ अर्ब ९३ करोड ६८ लाख हिनामिना गरेको आयोगले जनाएको छ। आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) बमोजिमको कसुरमा ३८ लाख ८० हजार बिगो कायम गरी कारबाहीका लागि आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ।