ठुला करदातालाई चैत मसान्तसम्म कर बुझाउन अन्तिम समयसीमा


काठमाडौं – ठुला करदाता कार्यालयले आय वर्ष २०८२/०८३ को अनुमानित करको दोस्रो किस्ता समयमै बुझाउन करदातालाई अनुरोध गरेको छ। कार्यालयले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम तिर्नुपर्ने अनुमानित करको दोस्रो किस्ताबापतको कर रकम यही २०८२ साल चैत मसान्तभित्र दाखिला गर्नुपर्ने जनाएको छ।

सो अवधिभित्र कर नबुझाए प्रचलित ऐन तथा नियमावलीअनुसार ब्याज तथा शुल्क लाग्ने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अनुमानित करको दोस्रो किस्तासँगै यदि कुनै करदाताको मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अग्रिम कर कट्टी तथा अन्तःशुल्कतर्फ बाँकी बक्यौता रहेको भए सो रकमसमेत चैत मसान्तभित्रै दाखिला गर्नुपर्नेछ।

समयमै कर दाखिला गरी ब्याज तथा जरिवानाबाट बच्न सबै करदातालाई कार्यालयले अनुरोध गरेको छ।