काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अयोगले पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोख्रेल, प्रदीप अधिकारीसहित २१ जना छन्। साथै, ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड र परामर्शदाता इआरएमसी\ए नट स्लेट जेभी माथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा ठेकेदार कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ’सँग सम्झौता हुँदा नै परामर्शदाता नियुक्तिका लागि २८ लाख अमेरिकी डलर (करबाहेक) बजेट छुट्याइएको थियो। तर, सोही बजेटबाट काम गराउनुपर्नेमा बदनियत राखी प्राधिकरणको छुट्टै बजेट शीर्षकबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँको लागत अनुमान स्वीकृत गराइएको अख्तियारको अनुसन्धानले देखाएको अयोगले जनाएको छ।
यसरी ठेक्का सम्झौताभित्रै रहेको रकम खर्च नगरी दोहोरो बजेट भार पारेर सार्वजनिक संस्थालाई ठुलो आर्थिक नोक्सानी पुर्याइएको दाबी गरिएको छ। उनीहरूले प्राधिकरणले सार्वजनिक संस्थाको जम्मा ४६ करोड १५लाख ८४ हजार बराबरको सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी र दुरुपयोग गरेको पुष्टि भएको देखिएको आयोगले जनाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ द्वारा परिभाषित भ्रष्टाचारजन्य कसुर भएको हुँदा उल्लिखित भ्रष्टाचारजन्य कसुरमा संलग्न उनीहरूमाथि देहायबमोजिमको कसुरमा देहायबमोजिम सजाय गरी बिगो माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।



About Us
प्रतिक्रिया