अछाममा राजेश हमाल अभिनित चलचित्र निर्माण गर्ने भन्दै १२ लाख सरकारी बजेट दुरूपयोग


काठमाडौं – अछामको ढकारी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा कार्यसमिति सदस्यले राजेश हमाल अभिनीत व्यक्तिगत निर्देशनमा निर्देशन भइरहेको भन्दै फिल्ममा १२ लाख रुपैयाँ छुटाएर सरकारी बजेट दुरुपयोग गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी बजेटको दुरुपयोग भएको आरोपमा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद, साथै आर.जे.ट्वान्टी फोर न्यूज र नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साललाई विशेष अदालतमा आरोपी बनाएर मुद्दा दायर गरिएको छ।

अयोगकाअनुसार, दोषीहरूले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधान विपरीत कार्य गर्दै चलचित्र निर्माणको लागि १५ लाखको सम्झौता प्रतिस्पर्धा नगरी सोझै गरेको, आवश्यक लागत अनुमान र खरिद प्रक्रिया नबनाई अघि बढाएको देखिएको छ। उनीहरूले चलचित्र निर्माणका लागि मिति २०८१ भदौ १८ मा सम्झौता गरे थियो। तर, उक्त कानुन विपरीतको वदनियतपूर्ण कार्यलाई ढाकछोप गर्न मिति २०८१ कात्तिक ६ गतेको राष्ट्रसेवक प्रतिवादीहरूकै मुख्य भई कार्य गर्ने कार्यपालिकाको बैठकले सम्झौतालाई अनुमोदन गरे खुल्न आएको छ। 

त्यसैगरी, कानुनले तोकेको २० प्रतिशत भन्दा बढी अग्रिम पेस्की नदिने व्यवस्था उल्लङ्घन गर्दै ५८ प्रतिशत पेस्की प्रदान गरेको, अग्रिम पेस्कीको बैंक जमानत नलिएको र झुट्टा बिलको आधारमा रकम भुक्तानी गरिएको पुष्टि भएको छ। अनुसन्धानबाट कुल १२ लाख ७७ हजार बराबरको सार्वजनिक सम्पत्तिको दुरुपयोग, निजी प्रयोग र हिनामिना भएको देखिएको अख्तियारले जनाएको छ। अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कारबाही गर्न विशेष अदालतमा मुद्दा दायर गरेको छ।