संयोगवश यसपालिको नागरिक लगानी कोषको वार्षिकोत्सवसँगै केही घटनाहरू जोडिएका छन्। जुन बेलामा नागरिक लगानी कोष खडा भयो, त्यो बेलामा अहिले म अन्तरिम सरकारको एउटा मन्त्री भएजस्तै, त्यो बेलामा पनि अन्तरिम सरकारका मन्त्रीले यस्तो किसिमको कोष चाहिन्छ भनेर घोषणा गर्नुभएको थियो। त्यस बेलामा अन्तरिम सरकार थियो, अहिले पनि अन्तरिम सरकार छ। त्यो बेलामा नेपालमा लोकतन्त्र प्राप्तिका निम्ति, नागरिकको स्वतन्त्रताका निम्ति क्रान्ति भएको थियो। अहिले ठ्याक्कै जेन्जी विद्रोहपछि सुशासन स्थापना गर्ने क्रान्तिमा छौँ। भ्रष्टाचार नियन्त्रण गर्ने क्रान्तिमा छौँ। त्यो बेलामा पनि एउटा मुलुकले खोजेको परिवर्तनको सङ्घारमा हामी थियौँ। संविधान बन्ने क्रममा थियौँ। अहिले पनि मुलुकले खोजेको एउटा महत्त्वपूर्ण परिवर्तनको सङ्घारमा छौँ। नयाँ सरकार बनेपछि ती दुईवटा कुराको विषयमा प्रगति हुने आशामा हामी छौँ। नेपाली जनताले ठुलो मत त्यस्तो वाचा गरेको दललाई दिएका छन्। आउँदो हप्तासम्ममा नयाँ सरकार स्थापित हुन्छ होला।
नागरिक लगानी कोषसँग अर्को एउटा किस्सा कथा पनि गाँसिएको छ। नेपाल सरकारले त्यसको लगत्तै दुई वर्षपछि, मलाई याद छ, ग्रामीण क्षेत्रमा विकास गर्नुपर्छ भनेर ग्रामीण विकास बैंक स्थापना गरेको थियो। ४६ सालमा खडा गरिएको नागरिक लगानी कोष अहिले प्रगति गरेर ३६औँ वार्षिक उत्सव मनाउँदै छ भने, त्यसको लगत्तै दुई वर्षपछि खडा गरिएका ग्रामीण विकास बैंकमध्ये चार वटा बैंकहरू कहाँ बिलाए, थाहा छैन। एउटा बैंक विभिन्न निकायसँग मर्ज भएर अहिले केही अवस्थामा सञ्चालनमै रहेको छ। अझै अर्को एउटा कथा पनि छ। नेपालको इतिहासमा सरकारी स्वामित्वका वित्तीय संस्थाहरूलाई ३५ वर्ष पुग्नुअघि नै नेपाल सरकारले उद्धार (रेस्क्यु) गर्नुपरेको अवस्था छ। त्यसमध्ये एउटा नेपाल उद्योग वाणिज्य महासंघ ३६औँ वार्षिक उत्सव मनाउनुभन्दा अगाडि नै विलीन भएर गयो।
राष्ट्रिय वाणिज्य बैंकलाई म आफै अर्थ मन्त्रालयमा हुँदा दुई–दुई पटक उद्धार गर्नुपर्याे त्यो पनि अन्तर्राष्ट्रिय निकायहरूबाट ऋण लिएर। कृषि विकास बैंकलाई पटक–पटक उद्धार गर्नुपर्याे। अहिले अलिकति हलचल गर्न सक्ने अवस्थामा पुगेको छ।
राष्ट्रिय वाणिज्य बैंकलाई म आफैँ अर्थ मन्त्रालयमा हुँदा दुई–दुई पटक उद्धार गर्नुपर्याे त्यो पनि अन्तर्राष्ट्रिय निकायहरूबाट ऋण लिएर। कृषि विकास बैंकलाई पटक–पटक उद्धार गर्नुपर्याे। अहिले अलिकति हलचल गर्न सक्ने अवस्थामा पुगेको छ। र, नागरिक लगानी कोष अहिलेसम्म सरल वित्तीय अवस्था भएको वासलात लिएर बसेको छ। यसको निम्ति यहाँहरू (कोषका कर्मचारीहरू) ले गर्व गर्नुपर्छ। यहाँहरूले अब गुनासो गर्नुभन्दा पनि हाम्रो त्यो गर्विलो इतिहासलाई आफ्नै क्षमता र ज्ञानले कसरी अगाडि बढाउन सक्छौं भन्ने सङ्कल्प आज यो ३६औँ वार्षिक उत्सवको बिहानीमा गरौं। त्यसका लागि म यहाँहरूलाई आग्रह गर्न चाहन्छु । हो, मैले बुझेको छु, आज प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्यमा केही कुरा उठाउनुभएको छ।
नेपाल सरकारको नीतिगत लगानीअन्तर्गत जमानत बसेर गरिएको कर्जाका कारणले यो संस्थालाई कतिपय अवस्थामा समस्या परेको छ। हामीले त्यसको सही विकल्प, सही उपाय खोज्नुपर्छ। त्यसका लागि हामीले केही विचार पनि गरेका थियौं। तर मेरो कार्यकाल अब सकिने क्रममा छ । आज–भोलिसम्ममा मैले धेरै कुराहरू सकेर विश्राम लिनुपर्नेछ। किनभने भोलि निर्वाचन आयोगले सम्माननीय राष्ट्रपतिज्यू समक्ष निर्वाचित सदस्यहरूको प्रमाणपत्र बुझाइसकेपछि निर्वाचन सम्पन्न भएको प्रतिवेदन प्रस्तुत गर्नेछ। त्यसपछि नयाँ सरकार गठन गर्ने प्रक्रिया र संविधानअनुसारका कार्यहरू तीव्रताका साथ अगाडि बढ्छन्।
त्यसकारण हामीले आन्तरिक रूपमा छलफल गरेका विभिन्न उपायमध्ये कुन उपयुक्त हुन्छ भन्ने कुरा यहाँहरूले आगामी दिनमा अगाडि बढाउनु हुनेछ। मेरो अर्थ मन्त्रालयका सहकर्मी उत्तरकुमार खत्री (सहसचिव) यहाँको सञ्चालक समितिमा हुनुहुन्छ। उहाँको नीति निर्माणमा संलग्नता रहनेछ र उहाँले त्यो विषयलाई अगाडि बढाउनुहुनेछ भन्ने मेरो विश्वास छ।
हामी प्रतिस्पर्धाबाट भाग्न हुँदैन । पेन्सन फन्ड म्यानेजमेन्ट कम्पनीहरूको संख्या भविष्यमा अझै बढ्न सक्छ। अर्थतन्त्रको आकार विस्तार हुँदै जाँदा एउटै कम्पनीलाई सबै जिम्मा दिँदा जोखिम व्यवस्थापन गर्न कठिन हुन्छ। त्यसैले संस्थागत विविधीकरण र पोर्टफोलियो आवश्यक पर्छ । एउटै संस्था अत्यधिक ठूलो हुँदा असफल हुने उदाहरणहरू हामीसँग छन्। त्यसैले प्रतिस्पर्धालाई सही ढंगले व्यवस्थापन गर्नुपर्छ । सरकारले कुनै निकायलाई पक्षपोषण गर्ने र अर्को निकायलाई अन्याय हुने अवस्था आउन दिनु हुँदैन । तर प्रतिस्पर्धा भयो भनेर गुनासो गर्नु उपयुक्त हुँदैन।
निक्षेपको विकल्प खोज्नैपर्ने अवस्था आएको छ। दीर्घकालीन वित्तीय उपकरणहरू बजारमा ल्याउने, त्यसका लागि नीतिगत व्यवस्था गर्ने र नयाँ संस्थाहरू स्थापना गर्ने आवश्यक छ। पेन्सन फन्ड म्यानेजमेन्ट कम्पनीहरूका लागि सम्पत्ति–दायित्व व्यवस्थापन सन्तुलित हुनुपर्छ। अहिले देखिएको मिसम्याच समस्यालाई समाधान गर्न सरकारले दीर्घकालीन ऋणपत्रहरू जारी गर्ने तयारी गरिरहेको छ-१५ वर्षे, २० वर्षे ऋणपत्रहरू। नेपाल सरकारले जारी गर्ने बन्डहरू सीमित हुन्छन्, किनकि फिस्कल स्पेसको सीमा हुन्छ। त्यसैले वैकल्पिक वित्तीय संस्थाहरूको आवश्यकता छ। वैकल्पिक वित्तसम्बन्धी विधेयक संसद्मा पुगे पनि प्रक्रियागत कारणले अड्किएको छ। तर यो अत्यन्त महत्त्वपूर्ण विषय भएकाले आगामी संसद्बाट अगाडि बढ्ने विश्वास लिएको छु।
अर्कोतर्फ, अर्थतन्त्रमा तरलता प्रचुर मात्रामा छ र ब्याजदर घट्दो क्रममा छ। कतिपय अवस्थामा वास्तविक ब्याजदर ऋणात्मक हुने अवस्थासमेत देखिएको छ। यस्तो अवस्थामा दीर्घकालीन लगानीका आयोजनाहरू अघि बढाउन आवश्यक छ। बुढीगण्डकी जलविद्युत् आयोजना जस्ता ठूला परियोजनाले बजारको तरलता व्यवस्थापन गर्न सहयोग पुर्याउँछन्। सार्वजनिक–निजी साझेदारी (पीपीपी)मार्फत् यस्ता आयोजना अगाडि बढाउने तयारी भइरहेको छ। त्यस्तै, भूमि ऐन संशोधन, व्यावसायिक कृषि विस्तार, माइनिङ क्षेत्रमा लगानी, र वातावरणीय स्वीकृतिमा सरलीकरण जस्ता उपायहरूले लगानीको वातावरण सुधार गर्नेछन्। अवकाश कोषमा कर सम्बन्धी विषयमा पनि पुनर्विचार आवश्यक छ, तर त्यसका लागि संसदीय प्रक्रिया अनिवार्य छ।यहाँहरूका कर्मचारी तथा संस्थाका योगदानको म उच्च कदर गर्दछु। नेपाल सरकारले लगानी गरेका संस्थामध्ये गर्व गर्नलायक संस्था नागरिक लगानी कोष हो। धेरै संस्थाहरूलाई ३५ वर्ष नपुग्दै उद्धार गर्नुपरेको अवस्थामा यसले आत्मनिर्भर रूपमा अघि बढेको छ । यो ठूलो उपलब्धि हो।
नेपाल सरकारको नीतिगत लगानीअन्तर्गत जमानत बसेर गरिएको कर्जाका कारणले यो संस्थालाई कतिपय अवस्थामा समस्या परेको छ। हामीले त्यसको सही विकल्प, सही उपाय खोज्नुपर्छ।
तर, प्रतिस्पर्धा खुला हुनुपर्छ। बन्द प्रतिस्पर्धा वा सीमित अवसरमा आधारित प्रणालीप्रति मेरो सहमति हुन सक्दैन। योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धा हुनुपर्छ। अहिले मुलुकका आर्थिक सूचकहरू सकारात्मक देखिए पनि चुनौतीहरू धेरै छन्। निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी हुन सकेको छैन। मध्यपूर्वको तनावका कारण आपूर्ति शृङ्खला प्रभावित हुने र लागत बढ्ने सम्भावना छ। यसप्रति हामी सबै सचेत हुनुपर्छ।
राजस्व सङ्कलनमा केही सुधार आएको छ, तर पर्याप्त छैन। रोजगारी सिर्जना, लगानी विस्तार, र निजी क्षेत्रको आत्मविश्वास बढाउन आवश्यक छ। सूचक राम्रो भएर मात्रै सन्तुष्ट हुने अवस्था छैन। यस दिशामा काम गर्न यहाँहरू सबैलाई प्रेरणा मिलोस् र नयाँ सरकारलाई पनि यहाँहरूको साथ रहोस् भन्ने कामना गर्दछु। आगामी दिनमा पनि यो संस्थाले नेपाल सरकारको उद्धारबिना नै आफ्नो यात्रा जारी राखोस् भन्ने शुभकामना व्यक्त गर्दै, ३६औँ वार्षिक उत्सवका अवसरमा हार्दिक बधाई दिन चाहन्छु ।



About Us
प्रतिक्रिया