क्यासिनोहरुमा  जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ जना पक्राउ 


काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न क्यासिनोमा अवैध रूपमा जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न १४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी प्ररिसर काठमाडौंकाअनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले बुढानिलकण्ठ नगरपालिका–१ तौलुङस्थित लेमन ट्री होटलभित्र सञ्चालित गरूड क्यासिनोबाट १३ जना र काठमाडौं महानगरपालिका–१४ सोल्टीमोडस्थित क्यासिनो महजोंगबाट १ जना गरी कुल १४ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट नगद १ लाख ९० हजार रुपैयाँ, विभिन्न कम्पनीका १४ थान मोबाइल, मिलन प्रधान नामको नक्कली भारतीय आधार कार्ड १ थान, सवारी चालक अनुमति पत्र २ थान, नक्कली भारतीय मतदाता परिचयपत्र १ थान, सिसी क्यामेराको डीभिआर ३ थान तथा नेपाली खेलाडीहरूले विभिन्न मितिमा नगद साटेको विवरण भएको एउटा इन्ट्री बुक बरामद गरेको छ।

प्रहरीले पक्राउ परेकामाथि जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ