पेट्रोल र डिजेलकाे भारी मूल्य वृद्धि, यस्ताे छ कारण


काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगमले आज राति १ बजेदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो। निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ।

अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु परेको निगमले जनाएकाे छ। निगमले पेट्रोलमा १५ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएकाे जनाएकाे छ। खाना पकाउने ग्यासको मूल्य भने बढाइएकाे छैन।

निगमका अनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य भारी वृद्धि भएर आए पनि नेपालमा नबढाइएको हो। खाना पकाउने ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि बढाइएको छैन। अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार हाल पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य वृद्धि नगरेर थोरै मात्र वृद्धि गरिएको निगमले जनाएको छ।

निगमका अनुसार बढेर आएको मूल्यअनुसार नेपालमा पेट्रोलको मूल्य वृद्धि गरिएको भए प्रतिलिटर ३१ रुपैयाँ बढाउनु पर्ने थियो। त्यसैगरी डिजेलको मूल्य प्रतिलिटर ५४ रुपैयाँ बढाउनु पर्ने थियो। डिजेलमा बढेर आएको भन्दा ४४ रुपैयाँ कम मूल्य वृद्धि गरिएको हो।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई भने पहिलो वर्गमा राखेको छ। यी ठाउँमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ।