राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक अधिकारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सहसचिव अधिकारीविरुद्ध ७० लाख रुपैँया घुस लिएको आरोप


काठमाडौं – राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सहसचिव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे।

अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैँया घुस लिएको अख्तियारको आरोप छ। प्रतिवादी झलकराम अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्वन्धी अन्य कसुरबाट बच्न सहजीकरण गरे वापत उक्त रकम लिएको अख्तियारको आरोप छ। 

इन्टरप्राइजेजका संचालक श्रीकृष्ण श्रेष्ठबाट घुस लिँदा विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँग सल्लाह तथा मिलेमतो गरेको पाइएको छ। उनीहरूले मिलाेमताेमा ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैक तथा वित्तीय संस्थामा रकम दाखिला गरी गराई तहिकरण गरी घुस रिसवत रकमको स्वरूप परिवर्तन गरेकाे अख्तियारले जनाएकाे छ।