उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालोसूचीमा


काठमाडौं – उदयपुर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। केन्द्रको अभिलेखअनुसार तामाङ संलग्न ‘मकालु कान्जिरुवा अटो लिंक प्रालि’ चेक बाउन्स प्रकरणमा कालोसूचीमा परेको देखिएको हो।

उक्त कम्पनीका सञ्चालक तामाङ र लीला राई रहेको उल्लेख छ। निर्वाचन परिणाम घोषणा भएपछि तामाङ कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको हो। केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालो सूचीको १०१,५१४ नम्बरमा छ। 

केन्द्रका अनुसार २०८० माघ २५ गते मकालु कान्जिरुवा अटो लिंकले त्रिथुङ्गा ट्रेडिङको नाममा माछापुछ्रे बैंकको खाताबाट काटेको २ लाख ५५ हजार रुपैयाँको चेक नसाटिएपछि कम्पनी र सञ्चालक कालो सूचीमा परेका थिए। त्यसअघि पनि कम्पनीबाट काटिएका विभिन्न चेक नसाटिएका विवरणमा छन्।

उक्त कम्पनीले २०७९ फागुन १५ गते इस्टन एजेन्सिसको नाममा माछापुछ्रे बैंकबाट काटेको १ करोड ५५ लाख रुपैयाँको चेक नसाटिएपछि कम्पनी र सञ्चालकलाई कालोसूची नम्बर ५७,८२३ अन्तर्गत राखिएको थियो। त्यसैगरी २०८० भदौ ५ गते सुरेश श्रेष्ठको नाममा काटिएको २२ लाख ५० हजार रुपैयाँको चेक पनि नसाटिएको विवरण छ।