काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म आएको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले प्रत्यक्षतर्फ ११५ क्षेत्रभन्दा धेरैमा जित निकाल्ने निश्चित बनिसकेको छ। यस्तो अवस्थामा समानुपातिक समेत गरी रास्वपाले दुई तिहाइ ल्याउने पक्कापक्की जस्तै भएको छ।
अहिलेसम्म गणना भएको समानुपातिक मतमध्ये रास्वपाले १ लाख २६ हजार मत ल्याएको छ भने दोस्रो स्थानको नेपाली काँग्रेसले ३८ हजार मत मात्रै ल्याएको छ। यस्तै, तेस्रो स्थानमा रहेको नेकपा एमालेले २८ हजार मत ल्याउँदा अन्य दल राष्ट्रिय दल बन्नकै लागि सङ्घर्ष गर्दैछन्। यस्तो अवस्थामा चुनावी मैदानमा रहेका ५ मध्ये ४ जना पूर्व अर्थमन्त्री हारेका छन्।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक जनार्दन शर्मा, र ज्ञानेन्द्रबहादुर कार्कीले चुनाव हारेका हुन्। नेपाली काँग्रेसका प्रकाश सरण महतले पनि चुनाव हार्ने पक्कापक्की छ। नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव उठेका महत हालसम्मको मतगणनाअनुसार दोस्रो स्थानमा छन्। तर, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन भने चुनाव जितेर संसद् छिरेका छन्।
यससँगै, रास्वपाका अर्थशास्त्री स्वर्णिम वाग्लेलाई आगामी अर्थमन्त्रीकारुपमा हेर्न थालिएको छ। उनलाई सभापति रवि लामिछानेले चुनाव अघि नै बजेट लेखनका जिम्मेवारी दिएका थिए। जसअनुसार रास्वपाले दुई तिहाइ बहुमतसहितको सरकार बनाउँदै गर्दा वाग्लेको काँधमा अर्थतन्त्रको बागडोरको जिम्मेवारी आउने पक्कापक्की जस्तै भएको छ।



About Us
प्रतिक्रिया