७ महिनामा ३२ प्रतिशतले बढ्यो नेपालको निर्यात, अझै ९ खर्ब ८८ अर्ब व्यापार घाटा


काठमाडौं – चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालको आयात र निर्यात नै बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको आयात १३.६५ प्रतिशतले र निर्यात ३२.१९ प्रतिशतले बढेको हो।

तथ्यांकअनुसार चालू वर्षको साउनदेखि माघसम्मको अवधिमा नेपालले विदेशबाट ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँको वस्तु आयात गरेको छ। गत वर्षको यही अवधिमा नेपालले ९ खर्ब ८८ अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो। जुन, चालू वर्षको तुलनामा १३.६५ प्रतिशतले न्यून हो।

यस्तै, यस अवधिमा नेपालले १ खर्ब ६८ अर्ब रुपैयाँको निर्यात गरेको छ। यो ३२.१९ प्रतिशतले बढी हो। गत वर्षको यही अवधिमा १ खर्ब २७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो। गत आर्थिक वर्ष नेपालले अहिलेसम्मकै उच्च वस्तु निर्यात गरेको थियो। सो वर्षभरीमा नेपालबाट २ खर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा निर्यात भएको थियो।

चालू वर्षको ७ महिनाको अवधिमा देखिएको वृद्धिले यो वर्ष पनि नेपालबाट निर्यात अत्याधिकरुपमा बढ्ने देखिन्छ । नेपालको निर्यात ३२ प्रतिशतले बढेपनि वैदेशिक व्यापारघाटा १० प्रतिशतले बढेको छ। नेपालले यस अवघिमा ९ खर्ब ५५ अर्ब रुपैयाँ वैदेशिक व्यापार घाटा ब्यहोरेको हो। जबकी, गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले ८ खर्ब ६१ अर्ब रुपैयाँ मात्रै व्यापारघाटा ब्यहोरेको थियो।