काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको घोषणापत्रमा नेपालको अर्थतन्त्रमा रेमिट्यान्स पछिको दोस्रो ठूलो खम्बा बन्ने सम्भावना बोकेको सूचना प्रविधि (आईटी) क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने बताएको छ। हाल करिब १.५ अर्ब अमेरिकी डलर बराबरको निर्यात गरिरहेको यस क्षेत्रलाई आगामी १० वर्षभित्र ३० अर्ब डलरमा पुर्याउने बताएकाे हो।
घोषणापत्रअनुसार लक्ष्य प्राप्तिका लागि एक स्वायत्त ‘आईटी प्रवर्द्धन बोर्ड’गठन गरिनेछ। बोर्डले नीति समन्वय, अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, लगानी सहजीकरण तथा स्टार्टअप इकोसिस्टम विकासमा नेतृत्वदायी भूमिका खेल्ने बताइएको छ।
त्यस्तै,आईटी क्षेत्रलाई प्रोत्साहन गर्न विशेष आयकर सहुलियत, वैदेशिक लगानी भित्र्याउन तथा नाफा स्वदेश फिर्ता लैजान सरल र स्पष्ट नीति लागू गरिने बताइएको छ। बौद्धिक सम्पत्तिलाई धितो राखी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने म्याक्रो वित्तीय व्यवस्था गरिने प्रस्ताव छ, जसले नवप्रवर्तन र स्टार्टअपलाई पुँजी पहुँचमा सहजता दिने अपेक्षा गरिएको बताइएको छ।
साथै, उक्त घोषणापत्रमा नेपाललाई ‘ग्लोबल टेक हब’का रूपमा विकास गर्ने लक्ष्यसहित सातै प्रदेशमा अत्याधुनिक ‘डिजिटल पार्क’ निर्माण गरिने बताइएको छ। ती पार्कहरूमा पूर्वाधार, डेटा सेन्टर, अनुसन्धान तथा विकास सुविधा, र अन्तर्राष्ट्रियस्तरको कार्यस्थल उपलब्ध गराइनेछ। यसबाट करिब ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना हुने बताइएको छ।



About Us
प्रतिक्रिया