कास्कीमा चन्दा असुलीको आरोपमा दुई जना पक्राउ


काठमाडौं – कास्कीमा गैरकानुनी रूपमा चन्दा सङ्कलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका– २ बस्ने ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका–१३ छाब्दी बस्ने ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे रहेका छन्। 

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्लास्थित विभिन्न स्थानमा‘माओवादीका कार्यकर्ता हौ’ भनी डरधाक धम्की दिई गैरकानूनी रूपमा चन्दा सङ्कलन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरू उपर चन्दा ऐन सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। उनीहरूको साथबाट २३ हजार नगद र ३ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।