सस्तो मूल्यमा बिलसहितको सुन दिन्छु भन्दै ६० लाख लुटपाट गर्ने दुई जना पक्राउ 


काठमाडौं –  काठमाडौंको काठमाडौं महानगरपालिका– १४ स्थित घ्याङ्खेलमा बोलाई सस्तो मूल्यमा बिलसहितको सुन दिन्छु भन्दै प्रलोभनमा पारी कुटपिट तथा लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतका रमेश बुढा मगर र इलामका दिपक राई रहेका छन्। 

उनीहरुले ६० लाख रुपैयाँ ल्याउन लगाई ८–९ जना व्यक्तिहरूको समूहले पीडितलाई नियन्त्रणमा लिई कुटपिट तथा लुटपाट गरी फरार भएका थिए।  प्रहरीका अनुसार, उनीहरूको साथबाट विभिन्न कम्पनीको मोबाइल ६ थान र घटनामा प्रयोग भएको मोटरसाइकल २ थान बरामद भएको छ। 

उनीहरू दुईजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोड, झापासँग समन्वयमा बिर्तामोडबाट पक्राउ गरी यस कार्यालयले थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौं  पठाइएको प्रहरीले जनाएको छ।    

प्रहरीका अनुसार मगरलाई खैरो हिरोइन ६५ ग्राम सहित लागू औषध नियन्त्रण ब्युरोबाट पक्राउ परी लागू औषध मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरेको थिए। भने राईलाई चोरी मुद्दामा जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंबाट पक्राउ परी २४ दिन हिरासतमा बसी जिल्ला अदालत, काठमाडौंबाट धरौटीमा छुटेको थिए।