काठमाडौं – प्रहरी हतियार लुटपाट तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका– २ भिमसेन टोलमा हतियार लुकाई छिपाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा महोत्तरीका रवि चौधरी र भारत घर भएका राज कुमार रहेका छन्। प्रहरीको सोधपुछ तथा प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटी लगेको स्वीकार गरेका छन्।
उनीहरुले लुटिएको हतियार पोखरा महानगरपालिका– २ भिमसेनटोलस्थित इन्द्र बहादुर भारीको घर टहरोमा रहेको दाउराको खलियोमा लुकाई छिपाई राखिएको खुलेको प्रहरीले बताएको छ।प्रहरी टोलीले सो स्थानमा खोजतलास गर्दा दाउराको बीचमा लुकाई राखिएको अवस्थामा RIFLE 5.56 mm M3226 लेखिएको इन्सास राइफल बरामद गरेको छ।
बरामद हतियारसहित दुवै जनालाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट हातहतियार खरखजाना सम्बन्धी कसुरमा ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।



About Us
प्रतिक्रिया