शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने अवधि थप


काठमाडौं – शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गते देखि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब फागुन ८ गतेसम्म अवधि थप गरेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणी प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

सो शेयर खरिदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।