भन्सार अधिकृतसहित ३ जना २ लाख ६८ हजार घुससहित पक्राउ


काठमाडौं  – त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपानेसहित ३ जना घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, गणेश प्रसाद पुडासैनी र छवि प्रसाद रिजाल रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूको साथबाट २ लाख ६८ हजार स्रोत नखुलेको रकम र २३ थान मोबाइल सेट बरामद गरेको छ। 

उनीहरूले कुरियर कम्पनीमार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग्ने  गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियारबाट खटिई गएको टोलीले प्रमाणसहित उनीहरूलाई गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो। 

अख्तियारका अनुसार पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट र उनको साथबाट गरी जम्मा १ लाख ४६ हजार,  रिजालको साथबाट ३८ हजार बरामद गरिएको छ।