दबाबकाबिच बैंकहरूको नाफामा रिकभरी, ८ बैंकले घटाए खराब कर्जा

नियमकीय कडाइ र रिकभरी सुधारले बैंकहरूको ‘ब्यालेन्ससिट’ बलियो


काठमाडौं – लामो समयको दबाबपछि बैंकिङ्ग क्षेत्रमा नाफाको ‘रिकभरी’ (पुनरुत्थान) देखिन थालेको छ। कर्जा असुलीमा आएको सुधार र खुद ब्याज आम्दानी बढेसँगै वाणिज्य बैंकहरूको नाफा फेरि उकालो लागेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएका छन्।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरूको नाफा २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँमा सीमित थियो लामो समयदेखि बढ्दो खराब कर्जा, उच्च ब्याजदर र कर्जाको माग सुस्ताएका कारण दबाबमा परेको बैंकिङ्ग क्षेत्र अहिले भने क्रमशः सन्तुलनतर्फ फर्किँदै गएको संकेत देखिएको छ।

बैंकहरूको नाफा सुधार हुनुको मुख्य कारण खुद ब्याज आम्दानीमा आएको वृद्धि हो। दोस्रो त्रैमाससम्म आइपुग्दा २० मध्ये केवल ६ बैंकको मात्र खुद ब्याज आम्दानी घटेको छ भने बाँकी १४ बैंकको खुद ब्याज आम्दानी बढेको छ। यसले समग्र बैंकिङ्ग नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ।

त्यससँगै, नियामक निकायको कडाइका बाबजुद बैंकहरूले कर्जा असुलीमा ध्यान केन्द्रित गर्दा खराब कर्जा नियन्त्रणमा आउन थालेको छ। तथ्यांक अनुसार ८ वाणिज्य बैंकले दबाबकै बीच आफ्नो खराब कर्जाको अनुपात घटाउन सफल भएका छन्। खराब कर्जा घट्दा प्रोभिजनिङको भार कम भएको र त्यसको प्रत्यक्ष असर बैंकहरूको ‘ब्यालेन्ससिट’मा सुधारका रूपमा देखिएको छ। निकट भविष्यमा आर्थिक गतिविधि थप चलायमान हुन सकेमा बैंकहरूको आम्दानी संरचना अझ बलियो बन्ने सम्भावना छ। तर, कर्जा विस्तार र जोखिम व्यवस्थापनबीच सन्तुलन कायम गर्न नसके पुनः दबाब बढ्न सक्ने देखिन्छ।

पहिलो त्रैमासको तुलनामा सुधारियो ‘ब्यालेन्ससिट’

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र असोज महिनामा आएको बेमौसमी बाढीका कारण बैंकहरूको वित्तीय विवरण दबाबमा देखिएको थियो। मध्यमस्तरका ऋणीले पनि विविध कारण देखाउँदै बैंकहरूलाई गर्नुपर्ने भुक्तानी समयमा नै नगर्दा अघिल्लो त्रैमासको ‘ब्यालेन्ससिट’ मा दबाब बढेको थियो। तर, विस्तारै जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण थलिएका उद्योग व्यवसाय उठ्न थालेसँगै बैंकहरूको रिकभरीमा सुधार आएको छ। जसका कारण ऋण असुली लयमा फर्किएपछि बैंक तथा वित्तीय संस्था नाफामा नै त्यसको सकारात्मक प्रभाव देखिएको छ।

पहिलो त्रैमासमा बैंकहरूले १३ अर्ब १४ करोड मात्रै नाफा आर्जन गरेका थिए। तर, यस त्रैमासमा सो नाफालाई बढाएर बैंकहरूले ३० अर्बमाथि कायम गरेका छन्। नेपाल राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक नरबहादुर थापा अघिल्लो त्रैमासको तुलनामा नाफामा आएको सुधारलाई अर्थतन्त्र समान्य गतिमा रहेको बुझ्न सकिने बताए। उनले बैंकहरूले कर्जा नोक्सानी व्यवस्थामा मिलाएर भन्दा पनि रिकभरी गरेर बढाएको नाफा बैंकहरूका लागी दीर्घकालीन रहने बताए।

११ वटा बैंकको नाफा वृद्धि

बैंकहरूले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार ११ वटा बैंकको नाफा बढ्दा ९ वटा बैंकको भने नाफामा गिरावट आएको छ। दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। बैंकले पुस मसान्तसम्ममा ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार नाफा कमाएको हो।

यस्तै, दोस्रो ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ३ अर्ब २५ करोड २१ लाख खुद नाफा आर्जन गरेको छ। यस्तै, तेस्रोमा कुमारी बैंकले २ अर्ब ७२ करोड नाफा कमाएको छ। यसैगरी, पुस मसान्तसम्ममा एभरेष्ट बैंकले २ अर्ब ११ करोड, प्राइम बैंकले २ अर्ब ४ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड नाफा कमाएको छ। सानिमा बैंकले १ अर्ब ३९ करोड, स्टायान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३२ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ३ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १ करोड पुगेको छ।

त्यस्तै, एनएमबि बैंकले १ अर्ब ६४ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६१ करोड, हिमालयन बैंकले १ अर्ब २९ करोड, प्रभु बैंकले १ अर्ब १ करोड, कृषि विकास बैंकले ७० करोड ७४ लाख, सिटिजन बैंकले ३५ करोड ८८ लाख र एनआईसी एशिया बैंकले १३ करोड ११ लाख नाफा कमाएका छन्।

लक्ष्मी सनराइज बैंक घाटामा

करिब एक दर्जन बैंकले नाफा वृद्धि गर्दा लक्ष्मी सनराइज बैंकले भने घाटा व्यहोरेको छ। दोस्रो त्रैमासमा बैंकको नाफा २७ करोड ३६ लाख १५ हजार ऋणात्मक छ। जबकी बैंकले गत आर्थिक वर्षको पुुस मसान्तसम्ममा १ अर्ब १६ करोड २० लाख नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढ्दा पनि नाफा भने ऋणात्मक देखिएको हो।

बैंकले दोस्रो त्रैमाससम्म ५ अर्ब २४ करोड ९० लाख खुद ब्याज आम्दानी गरेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ऋणात्मक छ। बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा ऋणात्मक छ। नाफा ऋणात्मक बन्दा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख ऋणात्मक छ।

दबाबकाबीच ८ बैंकले घटाए खराब कर्जा

दोस्रो त्रैमासमा बैंकहरूको खराब कर्जा घटेको छ। वाणिज्य बैंकको खराब कर्जा औसतमा ५.०८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वधिमा बैकको औसत खराब कर्जा ४.४९ प्रतिशत थियो। जेनजी आन्दोलनका क्रममा कर्जा असुली प्रभावित बन्दा बैंकहरूको औषत खराब कर्जा बढेको देखिन्छ।

यता, बैंकिङ्ग क्षेत्रका कर्मचारीमाथि हुने आक्रमण तथा बैंकमाथि हुने लुटपाट जस्ता घटना बढिरहेको समयमा पनि ८ वटा वाणिज्य बैंकले भने खराब कर्जा घटाएका छन्। दोस्रो त्रैमासमा एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.६८ प्रतिशत रहेको छ भने सबैभन्दा बढी हिमालयन बैंकको ७.९६ प्रतिशत छ।

नियामकीय व्यवस्थाले ब्यालेन्ससिट सुधार

राष्ट्र बैंक कर्जा वर्गीकरणमा लचक बन्दा पनि बैंकहरूको वित्तीय विवरण सकारात्मक देखिएको हो। राष्ट्र बैंकले लिलामी प्रक्रिया सुरु भएपछि कर्जा नियमित भएको खण्डमा उक्त कर्जालाई व्यवस्था अन्तर्गत खराब वर्गमा वर्गीकरण गरिरहन अनिवार्य नहुने बताएको थियो। २ अर्ब वा सोभन्दा बढी रकमका सह–वित्तीयकरण कर्जामा परिणत नभएका कर्जालाई सूक्ष्म निगरानीमा राखिने पारिपासु सम्झौता गरिएका नवीकरण नहुने प्रकृतिका अल्पकालीन चालु पुँजी कर्जाको हकमा यो व्यवस्था लागु नहुने राष्ट्र बैंकको व्यवस्थाले थप सहजता बैंकहरूलाई दिएको थियो।

लिलामी प्रक्रिया सुरु भएपछि कर्जा नियमित भएको खण्डमा उक्त कर्जालाई व्यवस्था अन्तर्गत खराब वर्गमा वर्गीकरण गर्न नपर्ने व्यवस्थाले बैंकको नाफामा सुधार आएको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सकार गरेको गैरबैंकिङ्ग सम्पत्तिमा सकार गरेकै मितिदेखि शत प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने र नोक्सानी व्यवस्थाको आवश्यक हिसाब मिलान गर्नुपर्ने व्यवस्था खारेज गरेको थियो। शतप्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था खारेज हुँदा बैंकहरूको नाफामा सुधार आएको हो।