माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै रिज लाइन इनर्जी


काठमाडौं – रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले कुल जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।

कम्पनीले दोस्रो चरणमा २८ हजार ४४० कित्ता शेयर कर्मचारीहरुका लागि र ७१ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएर बाँकी रहेको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा निष्काशन बन्द छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।