माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै होटल फरेष्ट इन


काठमाडौं – होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी कुल पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये यसअघि नै कम्पनीले ४ लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि त्यस्तै, २ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरु र ८० हजार कित्ता शेयर कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो आईपीओको निष्काशन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। सो आईपीओमा सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइनबाट आवेदन दिन सक्नेछन्।