भारत–युरोप व्यापार सहमति ऐतिहासिक


काठमाडौं – दुई दशकको छलफलपछि अन्ततः भारत र युरोपेली संघ (ईयू)बीच बहुप्रतीक्षित व्यापार सम्झौता भएको छ। मंगलबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटमा दुवै पक्षका नेताहरूले यस सम्झौतालाई औपचारिक रूप दिने तयारी गर्दै यसलाई ‘सबै सम्झौताको जननी’ भनेर व्याख्या गरेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री मोदीले यो सम्झौताले विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका र चीनबाट सिर्जित चुनौती सामना गर्न भारत र ईयू दुवैलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। 

‘विश्वभरका मानिसले यस सम्झौतालाई सबै सम्झौताको जननीका रूपमा हेरिरहेका छन्,’मोदीले भनेका छन्। उनका अनुसार यो सम्झौताले भारतका करिब एक अर्ब ४० करोड नागरिक र ईयूका लाखौँ जनताका लागि नयाँ सम्भावना र अवसर खोल्नेछ। साथै, सम्झौताले विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब २५ प्रतिशत र विश्व व्यापारको करिब एक तिहाइ हिस्सा प्रतिनिधित्व गर्ने मोदीको भनाइ छ। सोमबार भारतको गणतन्त्र दिवस परेडमा प्रमुख अतिथिका रूपमा सहभागी भएका ईयूका नेताहरू मंगलबार बिहान प्रधानमन्त्री मोदीसँग औपचारिक छलफलमा बसेका हुन्। 

ईयुले विश्वकै सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र भारतलाई भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण र रणनीतिक बजारका रूपमा लिएको छ। त्यसैगरी, भारतले इयुलाई आफ्नो तीव्र गतिमा बढ्दै गएको पूर्वाधार विकास, प्रविधि हस्तान्तरण तथा लाखौँ नयाँ रोजगारी सिर्जना गर्न आवश्यक लगानीको प्रमुख स्रोतका रूपमा हेरेको छ। दुवै पक्षबीचको आपसी निर्भरता र विश्वासलाई यो सम्झौताले अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

सन् २०२४ मा भारत र ईयूबीच सामानको द्विपक्षीय व्यापार एक खर्ब २० अर्ब युरो (करिब एक खर्ब ३९ अर्ब अमेरिकी डलर) पुगेको ईयूको तथ्यांकले देखाउँछ। यो पछिल्लो एक दशकमा झन्डै ९० प्रतिशतले वृद्धि भएको हो। यसका अतिरिक्त, सेवाहरूको व्यापारमा करिब ६० अर्ब युरो (६९ अर्ब डलर) थप कारोबार भएको छ। सम्झौता अनुसार भारतले कपडा, औषधि लगायतका क्षेत्रका उत्पादनहरूलाई युरोपेली बजारमा सहज पहुँच दिलाउने सर्तमा कार, वाइन जस्ता प्रमुख युरोपेली उत्पादनहरूका लागि आफ्नो बजार अझ खुला गर्ने अपेक्षा गरिएको छ।

अध्यक्ष भोन डेर लेयनले इयुले परम्परागत रूपमा संरक्षण गरिएको भारतीय बजारमा अहिलेसम्मकै उच्च स्तरको पहुँच पाउने बताउँदै भारततर्फको युरोपेली निर्यात दोब्बर हुने आशा व्यक्त गरे। उनका अनुसार यो सम्झौताबाट इयुले प्रमुख औद्योगिक तथा कृषि वस्तु क्षेत्रमा उल्लेखनीय प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्नेछ। 

भारतका लागि भने कपडा, रत्न तथा गहना, छालाजन्य वस्तु, साथै सेवा क्षेत्रजस्ता महत्त्वपूर्ण उद्योगहरूलाई ठूलो प्रोत्साहन मिल्ने प्रधानमन्त्री मोदीले स्पष्ट पारेका छन्। ईयूको पक्षबाट भारतमा अटोमोबाइल, वाइन तथा खाद्य सामग्रीको निर्यातमा लाग्ने कर घट्ने अपेक्षा गरिएको छ। ब्रसेल्स र नयाँदिल्ली दुवैले अमेरिकी कर नीति र चिनियाँ निर्यात नियन्त्रणको दबाबबीच नयाँ र भरोसायोग्य बजार खोजिरहेका बेला यो सम्झौता भएको हो। यससँगै मौसमी कामदार, विद्यार्थी, शोधकर्ता तथा उच्च दक्ष पेसवरहरूको आवागमन सहज बनाउने अलग सम्झौता र सुरक्षा तथा रक्षा सहकार्यसम्बन्धी समझदारी पनि हुने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकाअनुसार भारत यसै वर्ष विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको छ। दशकौँसम्म प्रमुख सैन्य उपकरणका लागि मस्कोमा निर्भर रहँदै आएको भारतले हालका वर्षहरूमा आयात विविधीकरण र स्वदेशी उत्पादन बढाउँदै रुसमाथिको निर्भरता घटाउने प्रयास गरिरहेको छ। ईयूले पनि संयुक्त राज्य अमेरिकासँगको निर्भरतामा यस्तै प्रकारको सन्तुलन खोजिरहेको सन्दर्भमा यो सम्झौता दुवै पक्षका लागि रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिएको छ। रासस/एएफपी