काठमाडौं – रिलायन्स स्पिनिङ मिल्सले नेपाली शेयर बजारकै इतिहासमा सबैभन्दा महँगो र विवादित आईपीओ निष्कासन गरेपछि पुँजी बजारमा उत्पादनमूलक उद्योगको अवस्थाबारे फेरि बहस सुरु भएको छ। तर, धागो र जुट उद्योगको विगत हेर्दा लगानीकर्ताका लागि यो क्षेत्र सधैँ उत्साहजनक भने देखिँदैन। यसअघि नै ज्योति स्पिनिङ मिल्स, बुटवल स्पिनिङ मिल्स र रघुपति जुट मिल्स नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट बाहिरिसकेका छन्। यी तीनै उद्योगले पहिल्यै आईपीओ जारी गरेका थिए। तर, व्यावसायिक रूपमा टिक्न नसकेपछि लगानी डुब्दै गएको र सूचीकरण शुल्कसमेत नतिरेको कारण देखाउँदै नेप्सेले क्रमशः ती कम्पनीलाई निलम्बन गरेको हो।
जुट तथा धागो उत्पादन गर्ने यी उद्योगहरूको कारोबार बन्द भएपछि शेयर किनबेच पनि रोकिएको थियो। दोस्रो बजारमा सूचीकृत रहन आवश्यक मापदण्ड पूरा गर्न नसक्दा एकपछि अर्को गर्दै कम्पनीहरू नेप्सेबाट हटेका हुन्। यसले उत्पादनमूलक क्षेत्र, विशेषगरी धागो उद्योगमा लगानी गर्नु कति जोखिमपूर्ण हुन सक्छ भन्ने स्पष्ट सन्देश दिएको छ। यही पृष्ठभूमिमा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन र बिक्री गरिसकेको छ। ठूलो आकार र उच्च मूल्यका कारण चर्चामा रहेको यो आईपीओले उत्पादनमूलक उद्योगप्रति लगानीकर्ताको विश्वास बढाउँछ कि विगतकै कमजोरी दोहोरिन्छ भन्ने प्रश्न खडा गरेको छ।
यी हुन् तीन दशकअघि नेप्सेबाट ‘सस्पेन्ड’ गरिएका तीन उद्योग
उत्पादनमूलक क्षेत्रअन्तर्गत पर्ने ज्योति स्पिनिङ मिल्स, बुटवल स्पिनिङ मिल्स र रघुपति जुट मिल्सलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले करिब तीन दशकअघि नै दोस्रो बजारबाट ‘सस्पेन्ड’ गरेको थियो। ती उद्योगहरू सञ्चालनमा टिक्न नसक्दा र सूचीकृत कम्पनीका रूपमा आवश्यक दायित्व पूरा नगर्दा शेयर कारोबारसमेत रोकिएको हो। ज्योति स्पिनिङ मिल्सको शेयर २०४८ असोज ११ गते नेप्सेमा सूचिकृत भएको थियो। यस कम्पनीका १२ लाख ७० हजार २८८ कित्ता शेयर सूचिकृत थिए भने त्यसबेला बजार पुँजीकरण ३ करोड ४२ लाख ९७ हजार ७७६ रुपैयाँ मात्र थियो। व्यावसायिक गतिविधि कमजोर बन्दै गएपछि यो कम्पनी दोस्रो बजारबाट निलम्बनमा पर्याे।
त्यस्तै, २०४५ असार ३ गते नेप्सेमा सूचिकृत भएको रघुपति जुट मिल्स पनि अहिले दोस्रो बजारमा छैन। यस कम्पनीका १८ लाख ६ हजार ९६६ कित्ता शेयर सूचिकृत थिए र बजार पुँजीकरण १८ करोड ६ लाख ९६ हजार रुपैयाँ रहेको थियो। उद्योग बन्द भएसँगै शेयर कारोबारसमेत रोकियो। २०४५ कात्तिक २९ गते नेप्सेमा सूचिकृत भएको बुटवल स्पिनिङ मिल्सको अवस्था पनि उस्तै रह्यो। यस कम्पनीका १३ लाख ६ हजार ६९३ कित्ता शेयर सूचिकृत थिए भने बजार पुँजीकरण २ करोड ३५ लाख २० हजार रुपैयाँ थियो । उद्योग सञ्चालन बन्द भएपछि यो कम्पनी पनि नेप्सेको सूचीबाट निष्क्रिय बन्यो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार यी उद्योगहरू सूचिकरण शुल्क नतिरेका कारण निलम्बनमा परेका हुन्। ‘सूचीकरण विनियमावली अनुसार नेप्सेमा सूचिकृत कुनैपनि कम्पनीले तोकिएको सूचिकरण शुल्क नतिरेमा नेप्सेले ‘सस्पेन्ड’ गर्न सक्छ,’ उनले भने, ‘त्यही प्रावधानअनुसार यी तीन उद्योगलाई कारोबारबाट रोकिएको हो ।’ उनका अनुसार ती कम्पनीहरूको उत्पादनसमेत पूर्ण रूपमा बन्द भइसकेको छ। ‘उद्योग नै बन्द भइसकेकाले सम्भवतः यी कम्पनीहरू अब दोस्रो बजारमा फर्किने अवस्था देखिँदैन,’ उनले भने।
किन डुब्दै छन् स्पिनिङ कम्पनीहरू ?
नेपालका ठूला–ठूला उद्योगहरू पछिल्ला वर्षहरूमा निरन्तर दबाबमा परिरहेका छन्। विशेषगरी स्पिनिङ उद्योगहरू अन्तर्राष्ट्रिय बजारको उतारचढाव, कच्चा पदार्थको तीव्र मूल्यवृद्धि र बजारमा माग घट्नुजस्ता कारणले एकपछि अर्को गर्दै संकटमा परिरहेका छन्। नेपालजस्तो विकासोन्मुख देशमा ठूला उद्योग सञ्चालन गर्न कच्चा पदार्थदेखि प्रविधि र बजारसम्म धेरै हदसम्म बाह्य देशहरूमाथि निर्भर हुनुपर्छ। अन्तरराष्ट्रिय बजारमा हुने मूल्य उतारचढावले प्रत्यक्ष असर पार्ने भएकाले कच्चा पदार्थ महँगिँदा उत्पादन लागत आकस्मिक रूपमा बढ्छ, जसले उद्योगलाई थप कमजोर बनाउँछ।
त्यसमाथि नेपालमा विद्युत् महसुल तुलनात्मक रूपमा महँगो हुनु, भारत र बंगलादेशबाट सस्तो कपडा तथा धागो आयात हुनु स्पिनिङ उद्योगका लागि ठूलो चुनौती बनेको छ। आयातित सस्ता उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी उद्योगको बजार खुम्चिँदै गएको छ। समग्र अर्थतन्त्रमा सुस्तता आउँदा बजारमा उपभोग माग घट्नु पनि उद्योग डुब्ने अर्को कारण बनेको छ।
विवादका बीच रिलायन्सले बाँडिसक्यो आईपीओ
रिलायन्स स्पिनिङ मिल्स लामो समयदेखि आईपीओ निष्काशनका लागि नियामक निकाय, संसदीय समिति र अदालतमा विवाद झेल्नुपर्याे। त्यसका बावजूद रिलायन्सले पहिलो र दोस्रो चरणमा निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सफलतापूर्वक बाँडफाँट गरिसकेको छ। अहिले पनि यसको आइपीओ निष्काशनका विषयमा नेपाल धितोपत्र बोर्डले एउटा छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको छ।
कम्पनीले बुक–बिल्डिङ विधिमार्फत सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँको दरमा आईपीओ निष्कासन गरेको थियो। अब कम्पनी चाँडै नै दोस्रो बजारमा शेयर कारोबार सुरु गर्ने तयारीमा छ। वित्तीय अवस्था हेर्ने हो भने रिलायन्स स्पिनिङ मिल्सको प्रदर्शन पछिल्लो वर्ष उल्लेखनीय रूपमा सुधारिएको देखिन्छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी नाफा कमाएको छ। सार्वजनिक गरिएको वार्षिक वित्तीय विवरणअनुसार उक्त आवमा कम्पनीले कुल १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ मात्र थियो।
आम्दानीतर्फ पनि कम्पनीको वृद्धि देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा रिलायन्सको कुल आम्दानी १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यसअघि, आव २०८०/८१ मा कम्पनीको कुल आम्दानी ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो। त्यसैगरी, कम्पनीको सञ्चालन नाफा पनि बढेको छ। अघिल्लो आवमा ५७ करोड २८ लाख रुपैयाँ रहेको सञ्चालन नाफा बढेर गत आवमा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) मा समेत वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ९० पैसा कायम भएको छ। अघिल्लो आवमा यो २ रुपैयाँ ९५ पैसा मात्रै थियो।





About Us
प्रतिक्रिया