पुसमा घरजग्गा चलायमान, मालपोत कार्यालयमा बढ्यो चहलपहल

कारोबारसँगै राजस्व पनि उकासियो, बजार बिस्तारै लयमा फर्किंदै


काठमाडौं – केही महिनाअघिसम्म सुनसानजस्तै देखिने मालपोत कार्यालयहरू पुस लागेसँगै फेरि चलायमान देखिन थालेका छन्। घरजग्गा किन्न–बेच्न आउनेको चाप बढ्दै जाँदा सरकारी सेवा प्रवाह मात्रै होइन, राज्यको ढुकुटीमा जाने राजस्व पनि उकासिएको छ। पुसमा घरजग्गा कारोबार र त्यसबाट उठ्ने राजस्व दुवै मंसिरको तुलनामा उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाउँछ।

पुस महिनामा देशभरका मालपोत कार्यालयबाट १ लाख ६२ हजार ८७७ वटा घरजग्गा सम्बन्धी सेवा प्रवाह भए। अघिल्लो महिना मंसिरमा यो संख्या १ लाख ५८ हजार ८९९ थियो। एक महिनामै करिब ४ हजार बढी सेवा प्रवाह भएको छ। यसले बजारमा बिस्तारै फर्किंदै गएको आत्मविश्वासको संकेत दिएको जानकारहरू बताउँछन्।

लिखत पारित, नामसारी, संशोधन, रोक्का र फुकुवाजस्ता सेवामा पुसमा मंसिरभन्दा बढी चहलपहल देखिएको छ। विशेषगरी नामसारी र संशोधन सेवामा आएको वृद्धिले जग्गा–घर कारोबारमा सक्रियता बढ्दै गएको देखाउँछ। कारोबार बढेसँगै सरकारको राजस्व संकलन पनि उक्लिएको छ। पुसमा घरजग्गा कारोबारबाट ५ अर्ब १७ करोड रुपैयाँ भन्दा बढी राजस्व उठेको छ।

मंसिरमा यो रकम ४ अर्ब ८४ करोड रुपैयाँ थियो। एक महिनामै करिब ३२ करोड रुपैयाँ बढी राजस्व उठेको छ। सबैभन्दा बढी राजस्व रजिष्ट्रेशन दस्तुरबाट आएको छ ,पुसमा मात्रै २ अर्ब ७६ करोड रुपैयाँ। त्यसपछि पूँजीगत लाभ करबाट १ अर्ब ९८ करोड रुपैयाँ संकलन भएको छ। सेवा कर पनि बढ्दै ३७ करोड रुपैयाँ नाघेको छ।

घरजग्गा क्षेत्रका जानकारहरूका अनुसार चाडपर्वपछि आर्थिक गतिविधि बढ्नु, बैंकिङ्ग प्रणालीमा तरलता सहज हुनु र कर्जाको ब्याजदर घट्दो क्रममा रहनु बजार चलायमान हुनुका मुख्य कारण हुन्। पुसमा गुठी अधीनस्थ जग्गाको लिखत पारित र मोहीसम्बन्धी सेवामा पनि सामान्य वृद्धि देखिएको छ। यसले कानुनी जटिलता बढी हुने क्षेत्रसमेत बिस्तारै खुल्दै गएको संकेत गर्छ। यद्यपि अपार्टमेन्ट लिखत पारित र प्रतिलिपि प्रक्रियाजस्ता केही सेवामा भने कमी देखिएको छ।