सिन्धुलीमा एसबीआई बैंक लुटपाट प्रकरण: ७ जना पक्राउ, २ करोड ६८ लाखभन्दा बढी रकम बरामद

'असोजबाट नै बैंक लुट्ने योजना बनाएका थिए'


काठमाडौं – सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंक शाखामा भएको चोरी घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबाट लुटिएको ३ करोड ७ लाख रुपैयाँमध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

गत पुस २९ गते साँझ करिब ७ः३० बजे घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित एसबीआई बैंक शाखामा ५–६ जनाको समूहले प्रवेश गरी सुरक्षा गार्ड र बैंक कर्मचारीलाई नियन्त्रणमा लिँदै खुकुरी प्रहार गरी सामान्य घाइते बनाएको थियो। त्यसपछि उनीहरूले भल्ट खोली नगद रकम लुटेर फरार भएका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोली घटनास्थल पुगेको थियो। बैंकका कर्मचारी र सुरक्षा गार्डलाई बाँधिएको र मुखमा टेप लगाएको अवस्थाबाट प्रहरीले उद्धार गरेको थियो। उद्धार गरी व्यापक खोजतलास सुरु गरिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको कमान्डमा ५० जना प्रहरी परिचालन गरिएको थियो।

खोजतलासकै क्रममा घटनास्थलदेखि करिब २ किलोमिटर पूर्व लिपिखोलामा बा.ड. ०३९८ नम्बरको टाटा सुमो र चालक भागवत सिंह थापालाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक सोधपुछपछि जङ्गलका विभिन्न स्थानमा लुकाई छिपाइ राखिएको १ करोड ८० लाखभन्दा बढी नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले शङ्कास्पद स्थानमा व्यापक खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब २ कि.मी. पूर्व लिपिखोलामा टाटा सुमो र चालक भागवत सिंह थापालाई फेला पारी प्रारम्भिक सोधपुछ गर्दा अपरिचित ६ जनाले विवाहको लागि भनी उक्त टाटा सुमो काभ्रे जिल्लाको बनेपाबाट सोही दिन रिजर्भ गरी ल्याएको बताएका थिए।

उनीहरूले केही समय पश्चात् आउने भएकाले पर्खी बसेको जानकारी गराएकोमा शङ्का लागि तत्काल सुमो र सुमो चालकलाई नियन्त्रणमा लिई अनुसन्धान तथा सोधपुछ कार्य गरिएको प्रहरीले जनाएको छ। अनुसन्धान तथा खोजतलास गर्ने क्रममा राती जङ्गलको विभिन्न स्थानहरूमा बोरामा लुकाई छिपाई राखेको र छरपस्ट अवस्थामा छरिएको एक करोड असी लाख दश हजार पाँच सय रुपैयाँ फेला पारी बरामद गरिएको थियो।

३० गते बिहान जिल्ला सिन्धुली घ्याङलेख गाउँपालिका– १ सुकाचुरीबाट ४ जना शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरी खानतलासी गर्दा पाँच लाख नौ हजार छ सय पचहत्तर रुपैयाँ फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरीको शोधपुछमा उनीहरूले घटनामा संलग्न भएको स्वीकार गरेको प्रहरीले जनाएका छन्।

उनीहरूले दिएको बयानको आधारमा लुकाई छिपाई राखेको स्थानबाट थप ८३ लाख ३५ हजार रुपैयाँ रकम र घटनामा प्रयोग भएकाे प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको प्रारम्भिक बयान तथा प्राविधिक विश्लेषण पश्चात् उक्त घटनामा चतुरमान बज्यु र उक्त बैंक रहेको घरधनी समेतको संलग्नता रहेको देखिएकोमा घरधनी छविलाल स्याङ्तानलाई तत्काल पक्राउ गरिएको छ। साथै, १ गते चतुरमान बज्युलाई जिल्ला सिन्धुली घ्याङलेख गाउँपालिका वडा नं. १ स्थित जङ्गल आसपासमा लुकिछिपी बस्दै आएकोमा खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युका अनुसार उनीहरूले असोजबाट नै बैंक लुट्ने योजना बनाई सोही अनुसारको तयारी तथा सूचना संकलन गरेको खुल्न आएको छ।प्रहरीको प्रारम्भिकअनुसन्धान अनुसार मंसिर २३ गते उक्त बैंक लुट्न भनी काठमाडौंबाट २ वटा मोटरसाइकल भाडामा लिई हाल पक्राउ परकामध्येका ४ जना आएको थिए। त्यस दिन परिस्थिति अनुकूल नभएकाले उक्त बैंक लुट्ने योजना विफल भएको थियो। उनीहरू २८ गते उक्त बैंक लुट्ने योजनासहित काठमाडौंको कोटेश्वरमा जम्मा भएको थिए। तर, त्यसदिन ढिला भएकाले उनीहरू पुनः २९ गते कोटेश्वरमा जम्मा भई पब्लिक सवारी साधनमा बनेपासम्म आएको र बनेपाबाट टाटा सुमो भाडामा लिई घ्याङलेखतर्फ लागेका थिए ।

बैंक लुटपाट गर्न घरधनी छविलाल स्याङ्तानले आवश्यक हातहतियारको व्यवस्थापन तथा सूचना प्रदान र निर्देशन दिएको खुल्न आएको छ। २९ गते साँझको समयमा पक्राउ प्रतिवादीहरुले एसबिआई बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड र बैंकको कर्मचारीहरुलाई नियन्त्रणमा लिई शाखा प्रमुखलाई प्लाष्टिकको पेस्तोल देखाई बैंकमा पैसा भएको भल्टको ताल्चा खोल्न लगाई बैंकमा भएको पैसा बोरा तथा झोला समेतमा हाली लुटी भाग्ने क्रममा प्रहरी तथा स्थानीय मानिसहरुको सक्रियताले लुटी लगेको पैसा जङ्गलतिर लुकाई छिपाई भागेकोमा बरामद गर्न तथा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

एसबीआई शाखा कार्यालय घ्याङलेख सिन्धुलीको अनुसार उक्त दिन बैंकबाट ३ करोड ७ लाख रुपैंया पैसा लुटी लगेको भनी जानकारी गराएको छ। पक्राउ प्रतिवादीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिन म्याद थप भई अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रहरीले उनीहरूले खुकुरी २ थान, प्लाष्टिकको पेस्तोल १ थान, मोबाइल थान ५ थान लगायतका सामान बरामद गरेकाे छ। चाेरीमा संलग्न काभ्रेपलाञ्चोकका भागवत सिंह थापा, सिन्धुलीका चतुरमान बज्यु, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका मिलन गिरी, विवेक मगरसहित १६ वर्षका एकजना पक्राउ परेका छन्।

Skip This