काठमाडौं – सरकारी जागिरप्रतिको आकर्षण कायमै देखिए पनि प्रहरी सेवाबाट भने कर्मचारीहरू बाहिरिने क्रम बढ्दै गएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस २४ सम्ममा ९ सय २६ जना प्रहरी कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। राजीनामा दिनेमा तल्लो तहका कर्मचारीको संख्या उल्लेख्य रहेको प्रहरीको भनाइ छ।
नेपालमा कुनै पनि सरकारी सेवामा आवेदन खुल्दा दरखास्त दिनेहरूको संख्या लाखौँमा पुग्ने गरेको छ। स्थायित्व, सुविधा र सामाजिक प्रतिष्ठाका कारण सरकारी जागिर अझै आकर्षक मानिन्छ। तर, प्रहरी सेवामा भने भर्ना हुनेको संख्यासँगै राजीनामा दिने क्रम पनि बढ्दो देखिएको छ। सरोकारवालाका अनुसार विशेष गरी प्रहरी जवानदेखि सहायक निरीक्षक (असई) र वरिष्ठ सहायक निरीक्षक (वरिष्ठ सई) तहसम्मका कर्मचारीहरूले बढी राजीनामा दिने गरेका छन्।
जेनजी आन्दोलनपछि मनोबलमा धक्का
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले प्रहरी संगठनको मनोबलमा गम्भीर असर पारेको देखिन्छ। उक्त आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशभरका प्रहरी कार्यालयहरूमा आगजनी भएको थियो। त्यसक्रममा ७४ वटा प्रहरी भवन पूर्ण रूपमा क्षतिग्रस्त भए भने २२२ भवनमा आंशिक क्षति पुगेको थियो। साथै, तीन जना प्रहरी अधिकृतसहित ७० जनाको मृत्यु भएको थियो। यस घटनापछि प्रहरी सेवाप्रति निराशा बढेको प्रहरी अधिकारीहरू बताउँछन्।
वरिष्ठ तहमा पनि राजीनामा
जेनजी आन्दोलनपछि राजीनामा दिनेमा तल्लो तहका कर्मचारी मात्र सीमित छैनन्। गत कात्तिकमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका थिए। उनले कात्तिक १२ गते प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका रानाभाटले घरायसी कारण देखाउँदै राजीनामा दिएको बताएका थिए। २०५८ साउन १८ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका रानाभाट करिब दुई दशकसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए। उनी राजीनामा दिनुभन्दा छ महिनाअघि मात्रै एसएसपीमा बढुवा भएका थिए।
किन बढ्दै छ प्रहरीको पलायन ?
प्रहरी सेवाबाट बाहिरिने मुख्य कारणमा बढ्दो महँगी, सीमित तलब–सुविधा, लामो समयसम्म सेवामा खटिनुपर्ने बाध्यता, पारिवारिक तथा व्यक्तिगत कारण र वैदेशिक रोजगारीप्रतिको आकर्षण प्रमुख छन्। प्रहरी नियमावलीअनुसार ३० वर्ष सेवा अवधि पूरा भएपछि अनिवार्य अवकाश हुने व्यवस्था छ। तर, प्रहरी जवानदेखि एसएसपी तहसम्मका कर्मचारीहरूले सेवा अवधि पूरा नहुँदै जागिर छाड्ने गरेको देखिन्छ।
बढुवा ढिलो, सुविधा सीमित
प्रहरी नियमावली २०७१ अनुसार प्रहरी वरिष्ठ नायब निरीक्षकबाट निरीक्षक हुन १४ वर्ष र निरीक्षकबाट नायब उपरीक्षक (डीएसपी) हुन १५ वर्ष लाग्ने व्यवस्था छ। तर, व्यवहारमा सो अवधिमा पनि बढुवा नहुने अवस्था रहने गरेको प्रहरी अधिकारीहरू बताउँछन्। सहायक निरीक्षकभन्दा तल्लो तहका कर्मचारीको बढुवा प्रक्रिया झनै ढिलो हुने भएकाले निराशा बढ्ने गरेको छ।
पेन्सन प्रणालीले पनि प्रभाव
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार तल्लो तहका प्रहरी कर्मचारीको पेन्सन १८ वर्ष र माथिल्लो तहका कर्मचारीको २० वर्ष सेवा अवधि पूरा भएपछि पाक्छ। ‘पेन्सन पाकेपछि तल्लो तहका धेरै कर्मचारीले अन्य अवसर खोज्दै राजीनामा दिने गरेका छन्,’ काफ्लेले भने।

उनका अनुसार एउटै ब्याचमा ५–६ हजार प्रहरी भर्ना हुने र उनीहरूको पेन्सन अवधि पनि एकै समयमा पुग्ने हुँदा कुनै वर्ष राजीनामा धेरै देखिन्छ भने कुनै वर्ष कम।
प्रहरी सेवाबाट बढ्दो पलायनले सुरक्षा व्यवस्थापन, अनुभव हस्तान्तरण र संगठनको दीर्घकालीन क्षमतामा चुनौती थपिरहेको छ। सेवा–सुविधा, बढुवा प्रणाली र कार्य वातावरण सुधार नगरे प्रहरी संगठनमा दक्ष जनशक्ति टिकाइराख्न कठिन हुने संकेत देखिएको छ । प्रहरीको अभिलेखअनुसार पछिल्ला वर्षहरूमा राजीनामा दिने क्रम निरन्तर बढ्दो छ।
पछिल्ला पाँच वर्षमा जागिर छाड्ने प्रहरीकाे तथ्यांकः
आव २०७७/७८ मा ७०३ जना
आव २०७८/७९ मा ४९९ जना
आव २०७८/७९ मा ४९९ जना
आव २०७९/८० मा ६३३ जना
आव २०८०/८१ मा ७९१ जना
गत आव (२०८१/८२) मा मात्र २ हजार ३ सय ७३ जना





About Us
प्रतिक्रिया