दार्चुला – अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। आयोजना प्रभावित क्षेत्रका नागरिकलाई शेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन्।
हाइड्रोपावर कम्पनीले शेयर जारी गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै मकरीगाड शेयर वितरण सङ्घर्ष समिति गठन गरी कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन्।
सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क शेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा आयोजनाका कारण प्रभावित सडकमा पक्की पर्खाल र तटबन्ध निर्माण गर्नुपर्ने माग राखिएको छ। यस्तै, प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकास, पानीका मुहान सुक्ने स्थानमा खानेपानी योजना निर्माण तथा विस्थापित पुराना घट्टको सट्टा नयाँ पानी घट्ट निर्माण गर्नुपर्ने मागमा उल्लेख छ। यसअघि मकरीगाडमा परम्परागत घट्ट थिए।





About Us
प्रतिक्रिया