दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना


काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई दुई लाख रूपैयाँ बराबरको जरिवाना गरेको छ।

यस्तै, श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि काठमाडौंलाई ५० हजार रूपैयाँ जरिवाना गरेको छ। विभागका अनुसार ती उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ २ क, दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ ख बमोजिम कारबाही गरिएको हो।

विभागले काठमाडौं र भक्तपुरका विभिन्न १७ वटा उद्योग र फर्ममा अनुगमन निरीक्षण गरेको थियो। त्यसमध्ये १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको थियो। स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी समेतको सहभागितामा विभागले निरन्तर रूपमा अनुगमन तथा निरीक्षण गरिरहेको छ।