काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत केही कम्पनीको शेयर मूल्य उच्च भएपनि लगानीकर्ताले पाउने प्रतिफल भने कमजोर देखिएको छ। वर्षौंदेखि लाभांश दिन नसकेर थलिएका कम्पनीहरूको शेयर मूल्य नै अत्यधिक उच्च रहेको पाइएको हो।
उच्च शेयर मूल्य भएका कम्पनीमध्ये युनिलिभर नेपालले भने हरेक वर्ष १ हजार ५ सय रुपैयाँभन्दा बढी लाभांश वितरण गर्दै आएको छ। तर, बोटलर्स नेपाल (बालाजु) र राष्ट्रिय बीमा कम्पनी जस्ता साना लगानीकर्ताको पहुँचभन्दा बाहिर रहेका महँगा शेयर मूल्य भएका कम्पनीहरूले पछिल्ला तीन आर्थिक वर्षदेखि आफ्ना शेयरधनीलाई लाभांश दिन सकेका छैनन्।
नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष रेवतबहादुर कार्की लेखापरीक्षणलाई प्रमुख कारण मान्छन्। उनले सरकारी स्वामित्वका दुवै कम्पनीको उदाहरण दिँदै लामो समयदेखि लेखापरीक्षण (अडिट) नहुनु ठुलो समस्या भएको बताएका छन्। शेयर मूल्य उच्च रहेपनि अडिट नगर्ने र शेयरधनीलाई प्रतिफल नदिने यस्ता कम्पनीका कारण आधारभूत शेयर बजार ज्ञान नभएका तथा साना पोर्टफोलियो भएका लगानीकर्ता डुब्ने जोखिममा पर्ने उनको भनाइ छ। उनले बैंकिङ्ग समाचारसँगको कुराकानीमा यस्ता कम्पनीहरू दैनिक कारोबारमा रहेपनि पारदर्शिताको अभाव देखिएको बताए।

त्यस्तै, शेयर बजार विश्लेषक निरज गिरी पनि लामो समयदेखि लेखापरीक्षण नभएका कम्पनीका वित्तीय अवस्थाबारे स्पष्ट जानकारी नहुने भएकाले लगानीकर्तामा अन्योल सिर्जना हुने बताउँछन्। उनका अनुसार यस्ता कम्पनीमा लगानी गर्दा विशेष गरी साना तथा शेयर बजारबारे पर्याप्त ज्ञान नभएका लगानीकर्ताले अतिरिक्त सावधानी अपनाउनुपर्छ।
‘लामो समयदेखि अडिट नभएका कम्पनीमा लगानी गर्नु उच्च जोखिम हो,’ उनले भने, ‘यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो जोखिम बहन गर्ने क्षमतालाई विचार गरेर मात्र निर्णय लिनुपर्छ।’ शेयर मूल्य उच्च हुनु मात्र लगानीको सुरक्षित आधार होइन। समयमै लेखा परीक्षण, नियमित लाभांश वितरण र वित्तीय पारदर्शितालाई समेत उत्तिकै महत्त्व दिनुपर्ने उनीहरूको सुझाव छ।

यी हुन् ३ वर्षदेखि लाभांश नदिने ३ कम्पनी, शेयर मूल्य कति ?
नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरू मध्ये शेयर मूल्यका आधारमा ठुला मानिने बोटलर्स नेपाल (बालाजु), राष्ट्रिय बीमा कम्पनी र उपकार लघुवित्त जस्ता कम्पनीहरूले तिन वर्षयता शेयरधनीको हात खाली बनाउँदै आएका छन्। १५ हजार रुपैयाँ माथि र १५ हजार आसपास शेयर मूल्य भएका यी कम्पनीहरूले लाभांश वितरण गर्नमा भने चुकेको नेप्से तथ्यांकले देखाउँछ। नेप्सेमा १५ हजार रुपैयाँ माथिको शेयर मूल्य भएको बोटलर्स नेपाल (बालाजु),ले हालसम्म शेयरधनीलाई लाभांश वितरण गरेको छैन।
त्यस्तै, अर्काे शेयर मूल्यकै हिसाबमा तेस्रो नम्बरमा पर्ने राष्ट्रिय बीमा कम्पनीले समेत हालसम्म प्रतिफल घोषणा गरेको छैन। १४ हजार रुपैयाँ बढी शेयर मूल्य भएको यस कम्पनीले आर्थिक वर्ष (आव) ०६८/६९ देखि शेयरधनीको हात खाली बनाउँदै आएको छ। त्यस्तै, ३ हजार रुपैयाँ माथि शेयर मूल्य भएको उपकार लघुवित्तले पनि तिन वर्षयता लगानीकर्तालाई प्रतिफल दिन सकेको छैन। यससँगै, ३ हजार आसपास शेयर मूल्य भएको महिला लघुवित्तले भने दुई आर्थिक वर्षदेखि लाभांश घोषणा गरेको छैन।
हालसम्मकै बढी लाभांश दिनेमा युनिलिभर नेपाल, अन्यको कति ?
नेप्सेमा सूचिकृत कम्पनीहरूमध्ये सबैभन्दा महँगो र धेरै लाभांश दिने कम्पनीको सूचिमा यूनिलिभर नेपाल पर्छ। जसको नेप्सेमा शेयर मूल्य नै ४६ हजार रुपैयाँ भन्दा माथि छ। यस कम्पनीले हरेक वर्ष आफ्ना शेयरधनीलाई लोभ्याउने गरी लाभांश घोषणा गर्दै आएको छ। कम्पनीले गत आवमा मात्रै शेयरधनीलाई १८४२ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ। त्यस्तै, आव २०८०/८१ मा १७१४ रुपैयाँ र आव २०७९/८० मा १५८० रुपैयाँ नगद लाभांश घोषणा गरेको थियो।
त्यस्तै, बोटलर्स नेपाल (तराई) ले यो वर्ष शेयरधनीलाई लाभांश नदिने भएको छ। नेप्सेमा सूचिकृत महँगो कम्पनीमध्येको चौथो नम्बरमा पर्ने यो कम्पनीले लाभांश भने दिएको छैन। कम्पनीले आव २०७९/०८० मा ६० प्रतिशत र आव २०८०/०८१ मा ५० प्रतिशत लाभांश वितरण गरेको थियो। त्यस्तै, आत्मनिर्भर लघुवित्तले हालसम्म गत आवको लाभांश घोषणा गरेको छैन। भने आव २०८०/८१ मा नगद लाभांश ५ प्रतिशत र बोनस १० प्रतिशत गरी १५ प्रतिशत लाभांश घोषणा गरेको थियो। नेप्सेमा यस कम्पनीको शेयर मूल्य ६ हजार आसपास छ।
त्यससँगै, साल्ट ट्रेडिङ कर्पोरेसनले (एसटीसी) गत आवको लाभांश हालसम्म घोषणा गरेको छैन। तर यस कम्पनीले आव आर्थिक वर्ष २०८०/८१ मा १० प्रतिशत नगद लाभांश र २०७९/०८० मा ०.७९ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर गरी १५.७९ प्रतिशत प्रतिफल घोषणा गरेको थियो । त्यस्तै, विशाल बजार कम्पनीले (बीबीसी) आव २०८०/८१ मा आफ्ना शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने गत आव ०८१/८२ दिने प्रतिफल भने हालसम्म घोषणा गरेको छैन।
त्यसैगरी, सीइडीबी होल्डिङ्गसले गत आवमा कम्पनीले वितरण गर्ने प्रतिफल हालसम्म घोषणा गरेको छैन। तर आव ०८०/८१ मा ११ प्रतिशत बोनस शेयर र ०७८/७९ मा ०.५७ प्रतिशत नगद लाभांश र ११ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। त्यस्तै, गुराँस लघुवित्तले भने तिन आर्थिक वर्ष नै प्रतिफल घोषणा गरेको छ। संस्थाले आव २०८१/०८२ मा नगद ०.७५ प्रतिशत र बोनस १४.२५ प्रतिशत घोषणा गरेको हो।
यसैगरी आव ०८०/८१ मा नगद ०.७५ प्रतिशत र बोनस शेयर १४.२५ प्रतिशत त्यस्तै, आव ०७८/७९ मा नगद ०.२१ प्रतिशत र बोनस शेयर ४ प्रतिशत लाभांश घोषणा गरेको थियो। त्यस्तै, यूनिक नेपाल लघुवित्तले २०७९/०८० मा नगद लाभांश १ प्रतिशत र बोनस १९ प्रतिशत प्रतिफल वितरण गरेको थियो। यस्तै, आव २०८०/०८१ मा शेयरधनीलाई लाभांश दिएको थिएन। यो सँगै गत आवको लाभांश हालसम्म घोषणा गरेको छैन।

त्यसैगरी, स्वाभिमान लघुवित्तले गत आवको लाभांश हालसम्म घोषणा गरेको छैन। आव ०८०/८१ मा नगद ०.२६ प्रतिशत र बोनस शेयर ५ प्रतिशत वितरण गरेको थियो । भने आव ०७९/८० लाभांश दिएको थिएन।यससँगै, क्रमशः नागरिक लगानी कोषले गत आवमा १३ प्रतिशत लाभांश वितरण गरेको छ।
त्यस्तै, आव ०८०/८१ मा १३ प्रतिशत र आव २०७९/०८० मा १४.७३ प्रतिशत लाभांश वितरण गरेको थियो। त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। त्यस्तै, आव ०८०/८१ संस्थाले १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।
त्यससँगै सीवाईसी नेपाल लघुवित्तले गत आवको मुनाफाबाट कुल १३.४३ प्रतिशत लाभांश घोषणा गरेको छ। भने बाँकीका दुई आवदेखि शेयरधनीको हात खाली बनाउँदै आएको थियो। त्यस्तै, मिथिला लघुवित्तले गत आवमा १५ प्रतिशत त्यस्तै, आव ०८०/८१ मा १५ प्रतिशत र आव ०७८/७९ मा १५.७८ प्रतिशत प्रतिफल घोषणा गरेको थियो।
त्यसैगरी, जीवन विकास लघुवित्तले ३ आवदेखि लगातार लाभांश वितरण गर्दै आएको छ। संस्थाले गत आवमा १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ। भने आव ०८०/८१ मा समेत १४.७३ प्रतिशत प्रतिफल दिएको थियो। यसरी संस्थाले तीन आवदेखि समान प्रतिफल दिँदै आएको नेप्से तथ्यांकले देखाउँछ।





About Us
प्रतिक्रिया