काठमाडौं – विभिन्न सरकारी तथा गैरसरकारी निकायका सूचना प्रणालीमा अनधिकृत पहुँच (ह्याकिङ) गरी डाटा चोरी गरिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका सन्तोष चिमरिया र विकास पौडेल रहेका छन्। साइबर ब्यूरोले पछिल्लो केही महिनादेखि सरकारी तथा गैरसरकारी कार्यालयका वेबसाइट र सम्बन्धित सर्भरमा भएको ह्याकिङ तथा डाटाबीच घटनाको अनुसन्धानका क्रममा चिमरिया र पौडेललाई पक्राउ गरेको हो।
सीएमडी नेपाल र नेपालका लागि नेपाली (एनएफएन)लगायतका समूहहरूले आफूले ह्याकिङ गरेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत सामग्री प्रसारण गरिरहेको सन्दर्भमा नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र निर्वाचन आयोग नेपालबाट प्राप्त उजुरीका आधारमा प्राविधिक विश्लेषण तथा अनुसन्धान गरिएको साइबर ब्युरोले जनाएको छ।
अनुसन्धानका क्रममा चिमरियालाई झापाबाट र पौडेललाई सिन्धुपाल्चोकको साँगाचोकगढीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ। पक्राउका क्रममा उनीहरूको साथबाट ४ थान ल्यापटप, १० थान एन्ड्रोइड मोबाइल, १ थान आईफोन, १ थान फिचर फोन, १ थान हार्ड ड्राइभ र १ थान रिपिटर बरामद गरिएको छ।





About Us
प्रतिक्रिया