तत्कालीन नगर प्रमुखसहित १४ जनामाथि  ३ करोड २७ लाख बिगो कायम गरी मुद्दा दायर 


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुरा बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसहित १४ जना र एक कम्पनीविरूद्ध आरोपपत्र दायर गरेको छ। आयोगले तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसमेत १४ जना र जाग्रितिरएम.केरनेपाल जे.भी., धनगढी, कैलालीमाथि आज विशेष अदालत, काठमाडौंमा, आरोपपत्र दायर गरेको हाे। 

उनीहरुले बाजुरा, बुढीगंगा नगरपालिकाको आथिक वर्ष २०७८/७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्यको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून प्रतिकूल हुनेगरी लक्षित बोलपत्रदातालाई ठेक्का दिन योग्यताको शर्त तथा मापदण्डलाई बदनियतपूर्वक परिवर्तन गरी गराई बढी कबोल गर्ने बोलपत्रदातालाई स्वीकृत गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ। 

आयोगकाअनुसार उनीहरुमाथि ३ करोड २७ लाख ७८ हजार बिगो कायम गरिएको छ। यस्तै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असूल उपर हुन एवं सोही ऐनको दफा ११ र दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय माग गरिएकाे छ।

साथै, प्रतिवादी नगर प्रमुख दीपक विक्रम शाहलाई दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिइएको जनाएको छ।