दोस्रो आइजीपी नेशनल तेक्वान्डो च्याम्पियनसिप सुरु


काठमाडौं – नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा सञ्चालन हुने दोस्रो आइजीपी नेशनल तेक्वान्डो च्याम्पियनसिप–२०८२ आइतबारबाट सुरु भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नेपाल पुलिस स्कुल सामाखुसीमा आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्घाटन गरेका हुन्।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई उत्कृष्ट खेल प्रदर्शन तथा सफलताको शुभकामना व्यक्त गरे। यस्ता प्रतिस्पर्धात्मक प्रतियोगिताहरूले समग्र रूपमा विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन, सामूहिक भावना, नेतृत्व क्षमताको विकासको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी तयार गर्न सहयोग पुग्ने बताए। 

उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य राम प्रसाद भुसालले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी जानकारी दिएका थिए। सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४५ वटा विद्यालय र डोजाङका करिब ६ सय जना तेक्वान्डो खेलाडीहरूको सहभागिता रहेको छ। कार्यक्रममा विभिन्न विद्यालयका खेलाडीहरू, शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो।