डिजिटल वालेटमार्फत ठगी गर्ने ६ जनाको गिरोह पक्राउ, करिब ३९ लाख २० हजारको कारोबार 


काठमाडौं – सर्वसाधारणको नाममा अनधिकृत डिजिटल वालेट (ई–वालेट) सञ्चालन गरी अनलाइन ठगी गर्दै आएको एक गिरोहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  धनुषाको धारापानी चौकमा मामा भान्जा ट्रेडर्स (आइएमी) का सञ्चालक विनोद भन्ने विशालधारापानी चोकमा नै भएको दीपशिखा मोबाइल पसलको सञ्चालक सन्तोष मण्डल, धनुषाको धनौजी बस्ने साधु राम, जनकपुर शिव चौक एरियामा डेरा गरी बस्ने  बलराम मण्डल , धनुषाको धनौजी बस्ने रुपेश कुमार साह र निक्की कुमार राम रहेका छन्। 

प्रहरीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका व्यक्तिहरूले आफन्तको नाममा रेमिट्यान्समार्फत पठाएको रकम निकाल्न आउने सेवाग्राहीहरू, विशेष गरी महिलालाई, नागरिकताको प्रतिलिपि र फोटो आवश्यक पर्ने बहानामा झुकाइ उनीहरूको फोटो तथा नागरिकताको दुरुपयोग गरी अनधिकृत डिजिटल वालेट खाता खोल्ने गरिएको थियो। ती वालेटहरू विभिन्न ठगी समूहलाई बिक्री–वितरण गरी साइबर ठगी गर्ने गरिएको सूचनाका आधारमा विशेष अनुसन्धान गरिएको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार विशाल भुजेलले प्रति डिजिटल वालेट १ हजार ५ सय देखि २ हजारसम्म लिई मोबाइल पसले सन्तोष मण्डलमार्फत अनधिकृत वालेट सञ्चालन गराउने गरेका थिए। सन्तोष मण्डलले नयाँ सिम कार्ड निकाल्न आउने सेवाग्राहीलाई झुक्काइ आवश्यकभन्दा बढी सिम दर्ता गरी ती सिम प्रयोग गरेर वालेट खोल्ने र प्रति वालेट ६ हजार देखि १० हजारसम्ममा ठगी गर्ने समूहलाई बिक्री गर्ने गरेको खुलेको छ।

साधु रामलगायतका व्यक्तिहरूले ती वालेट प्रयोग गरी सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई लत्ताकपडा, फर्निचर, मोटरसाइकलजस्ता सामग्रीको फोटो तथा भिडियो पोस्ट गरी विज्ञापन गर्ने र सर्वसाधारणलाई रकम पठाउन लगाई ठगी गर्ने गरेका थिए। ठगीबाट आएको रकम वालेटमार्फत मगाई कमिसन कटाएर बाँकी रकम बाँडफाँड गर्ने गरिएको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बहादुर बमले जनाएका छन्। 

प्रहरीले उनीहरूबाट विभिन्न कम्पनीका मोबाइल १९ थान, ल्यापटप ४ थान, ट्याब १ थान, ठगीमा प्रयोग भएका सिम कार्ड २० थान, सिम कभर ५५ थान तथा इन्टरनेट राउटर ३ थान बरामद गरेको छ। अनुसन्धानका क्रममा विभिन्न व्यक्तिको नाममा खोलिएका डिजिटल वालेटमार्फत हालसम्म करिब ३९ लाख २० हजार ६५ रुपैयाँ बराबरको कारोबार भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।