काठमाडौं – काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार क्यासिनोमा प्रविधि प्रयोग गरी करोडौँ रुपैयाँ ठगी गर्ने योजनामा संलग्न रहेको आरोपमा चिङलाई पक्राउ गरिएको हो।
यसअघि प्रहरीले म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट गर्ने लेन्स राखेर क्यासिनो खेल्दै करोडौँ ठग्न खोज्ने चार भारतीय र दुई नेपाली महिलालाई पक्राउ गरेको थियो। सोही घटनामा क्यासिनोका अध्यक्ष चिङलाई पनि पक्राउ गरिएको उनले बताए ।
प्रहरीका अनुसार यस ठगी काण्डका मुख्य योजनाकार भारतीय नागरिक सुरेश महाजन हुन्। उनलाई नेपालमा सहयोग गर्ने व्यक्ति जनार्दन उप्रेती रहेको खुल्न आएको छ। महाजनले नेपालमा क्यासिनो इभेन्ट आयोजना गर्ने बहानामा क्यासिनो बुक गर्ने र खेलाडीहरूका लागि भन्दै पाँचतारे होटेलमा करिब ११० वटा कोठा बुक गरी ठगीको योजना बनाएको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार अभियुक्तहरूले तास र चिपमा म्याग्नेट जडान गर्नुका साथै त्यससँग कनेक्ट हुने विशेष आई लेन्सको प्रयोग गरेका थिए। ती लेन्स आँखामा लगाएपछि खेलको क्रममा पछाडिबाटै कुन खेलाडीलाई कुन तास परेको हो भन्ने जानकारी प्राप्त हुने र सोही आधारमा आफूहरूले खडा गरेका डमी खेलाडीमार्फत खेल नियन्त्रण गरी रकम जित्ने योजना बनाउने गरेका थिए।





About Us
प्रतिक्रिया