वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा ६२ हजार जरिवाना तोकिएका फरार कैदी पक्राउ


काठमाडौं – अवैध रूपमा संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार गरेको मुद्दामा कैद सजाय भोगिरहेका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ बस्ने टसी तामाङ रहेका छन्। 

उनलाई उक्त मुद्दामा गौरीशङ्कर संरक्षण क्षेत्र कार्यालय, दोलखाले मिति २०७० मंसिर १७ गते फैसला गर्दै ५ वर्ष कैद र ६२ हजार जरिवाना तोकेको थियो। सोही सजाय भुक्तान गर्ने क्रममा टसी तामाङ जगन्नाथदेवलस्थित सुन्धारा कारागारमा कैदमा रहेका थिए। 

तर, जेनजी आन्दोलनको क्रममा उनी उक्त कारागारबाट फरार भएका थिए। फरार रहेर लुकिछिपी बसिरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट  खटिएको प्रहरी टोलीले काठमाडौंको गोकर्णेश्वर क्षेत्रबाट उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङलाई केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेश गरिएको छ।