काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रूपैयाँको वैदेशिक व्यापार गर्दा छ खर्ब ४९ अर्ब ६८ करोड रूपैयाँ घाटा व्यहोरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रूपैयाँको आयात र एक खर्ब १६ अर्ब ५० करोड रूपैयाँको निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५ दशमलव ८३ र निर्यात ५८ दशमलव १७ प्रतिशतले बढेको विभागले जनाएको छ।
भारतसँग मात्र पाँच महिनामा तीन खर्ब ३९ अर्ब दुई करोड रूपैयाँभन्दा बढी व्यापार घाटा देखिएको छ। यो अवधिमा भारतबाट चार खर्ब ३४ अर्ब छ करोड ४२ लाख रूपैयाँको वस्तु आयात हुँदा ९५ अर्ब चार करोड २० लाख रूपैयाँ बराबरको मात्रै निर्यात भएको छ। अर्को छिमेकी मुलुक चीनसँग एक खर्ब ६३ अर्ब ७३ करोड ४८ लाख रुपैयाँको आयात र ४६ करोड ६८ लाख बराबरको मात्र निर्यात हुँदा नेपालले रू एक खर्ब ६३ अर्ब २६ करोड ८० लाखको घाटा व्यहोरेको छ ।
नेपालले व्यापार नाफा गरेका मुलुकहरुमा भने रोमानिया पहिलो स्थानमा देखिएको छ । पछिल्लो पाँच महिनामा रोमानियासँग नेपालको कूल वैदेशिक व्यापार नाफा छ करोड ३४ लाख ६९ हजार रूपैयाँ बराबर छ । त्यस्तै स्वीडेन, इराकलगायतका मुलुकसँग नेपालको व्यापार नाफा छ।
यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ। विभागका अनुसार पछिल्लो पाँच महिनामा ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रूपैयाँ बराबरको डिजेल, २७ अर्ब ३३ करोड दुई लाख १४ लाख रूपैयाँ बराबरको पेट्रोल र २२ अर्ब ३९ करोड ४६ लाख रूपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । १९ अर्ब १३ करोड ६९ लाख रूपैयाँको स्मार्टफोन, ४६ अर्ब ९७ करोड रूपैयाँको कच्चा सोयाबिन तेल, २१ अर्ब ८४ करोड ६३ लाख रूपैयाँ बराबरको फलामजन्य वस्तु आयात भएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाबिन तेल पहिलो स्थानमा देखिएको छ। यो अवधिमा ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार रूपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। त्यस्तै पाँच अर्ब ५३ करोड ३२ लाख रूपैयाँ बराबरको ठूलो अलैँची, चार अर्ब १३ करोड ३४ लाख रूपैयाँ बराबरको कार्पेट र तीन अर्ब ७३ करोड रूपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको छ ।





About Us
प्रतिक्रिया