काठमाडौं – पछिल्ला समय देशभर जुवा तास खेल्ने गतिविधि बढ्दै जाँदा आर्थिक रूपमा कमजोर परिवारहरू थप संकटमा फस्दै गएका छन्। प्रहरीको तथ्यांक र पछिल्ला घटनाक्रमले जुवातास मनोरञ्जनको सीमाभन्दा बाहिर गई सामाजिक तथा आर्थिक समस्याको रूपमा विकसित भएको छ।
गत असोज १८ गते बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ बाइपास रोडस्थित मौरी रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेस्टुरेन्टका सञ्चालक सोही ठाउँका २८ वर्षीय विज्ञान श्रेष्ठसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनीहरूको साथबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ नगद र आठ बुक तास बरामद गरेको थियो।
यस्तै, काभ्रेपलान्चोकको पनौती नगरपालिका–९ भण्री गाउँस्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा पनौती–७ निवासी ३५ वर्षीय रिजन सैजुसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ३ लाख ६ हजार ४ सय ५५ रुपैयाँ नगद, १६ थान कौडा र एक बुक तास बरामद गरेको थियो।
त्यस्तै, कात्तिक ६ गते मात्र प्रहरीले काठमाडौं, चितवन, कास्की, भक्तपुर, दाङ, बर्दिया, स्याङ्जा र कञ्चनपुरलगायत जिल्लाबाट १०९ जना जुवाडेलाई पक्राउ गरेको थियो । ती घटनामा २७ लाख रुपैयाँभन्दा बढी नगद तथा तासका बुक र कौडा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा जुवातास खेल्नेहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। विशेष गरी दसैँ–तिहारजस्ता चाडपर्वको समयमा साथीभाइको जमघट, अव्यवस्थित खर्च र सजिलो पैसा कमाउने मनोवृत्तिले यस्तो गतिविधि झन् बढ्ने गरेको देखिन्। यस वर्षको दसैँ–तिहार अवधिमा मात्र देशका विभिन्न स्थानमा छापा मार्दा पाँच सय ४६ जना जुवाडेलाई नियन्त्रणमा लिइएको प्रहरी तथ्यांकमा उल्लेख छ। प्रहरीले चाडपर्व बाहेकका समयमा पनि ठुलो संख्यामा जुवाडे नियन्त्रणमा लिँदै आएको छ।
चाडपर्वमा मनोरञ्जनका नाममा सुरु हुने जुवातास अन्य समयमा भने धेरै परिवारका लागि आर्थिक र सामाजिक संकटको कारण बन्दै गएको छ। समुदायका विभिन्न स्थानमा हुने जुवातासमा लाखौँ रुपैयाँसम्म हारजित हुने प्रवृत्ति बढेसँगै दैनिक आम्दानी कमजोर भएका परिवारहरू घर खर्चका लागि छुट्याइएको रकमसमेत जुवातासमा लगानी गर्न बाध्य भइरहेको देखिन्छ।
कतिपय अवस्थामा जुवाडेहरूले आफूसँग पर्याप्त रकम नभएपछि ऋण लिएर वा चिनजानकै व्यक्तिबाट उधारो लिएर जुवा खेल्ने गरेको पाइन्छ। यसले गर्दा जुवाडे मात्र नभई उनका परिवारसमेत आर्थिक संकटमा फस्ने गरेका घटनाहरू बाहिर आइरहेका छन्। धेरै घटनामा जुवातासका कारण गरिब परिवारका थोरै सम्पत्तिसमेत सकिने, पारिवारिक सम्बन्धमा चिसोपन आउने र ऋणमाथि ऋण थपिँदै जाने अवस्था देखिएको छ।
वर्षेनी बढ्दैछन् जुवाडेको संख्या
प्रहरीको पछिल्ला तथ्यांकले देशभर जुवा ताससम्बन्धी गतिविधि निरन्तर बढ्दै गएको देखाएको छ। वर्षेनी दर्ता हुने मुद्दा र पक्राउ पर्ने व्यक्तिको संख्या उच्च रहँदा जुवा तास सामाजिक र आर्थिक चुनौतीका रूपमा उभिँदै गएको छ।
प्रहरीका अनुसार आर्थिक वर्ष ०७६/७७ मा जुवा ताससम्बन्धी ४ सय ७७ वटा मुद्दा दर्ता भएका थिए भने ३ हजार ५ सय ८४ जना पक्राउ परेका थिए। तीमध्ये ३ हजार ५ सय ७२ जना स्वदेशी र १२ जना विदेशी नागरिक थिए। त्यसपछिको आर्थिक वर्ष ०७७/७८ मा ४ सय ९५ वटा मुद्दा दर्ता हुँदा ३ हजार ४ सय ५६ जना जुवाडे पक्राउ परेका थिए।
आर्थिक वर्ष ०७८/७९ मा जुवा ताससम्बन्धी मुद्दाको संख्या केही घट्दै ४ सय ३० मा झरे पनि ३ हजार २ सय २३ जना पक्राउ परेका थिए। यस्तै, आव ०७९/८० मा ३ सय ४२ वटा मुद्दा दर्ता हुँदा २ हजार २ सय ५८ जना पक्राउ परेका थिए। पछिल्ला दुई वर्षमा भने जुवा ताससम्बन्धी गतिविधि बढेको छ। आव ०८०/८१ मा ३ सय ८९ वटा मुद्दामा २ हजार ८ सय ५३ जना पक्राउ परेका थिए भने गत आव ०८१/८२ मा ३ सय ९१ वटा मुद्दा दर्ता भई ३ हजार १६ जना जुवाडे पक्राउ परेका छन्। उक्त वर्ष पक्राउ पर्नेमा १ सय १ जना विदेशी नागरिकसमेत रहेका छन्।
कानुनी व्यवस्थाअनुसार जुवा तास खेल्ने क्रममा पहिलो पटक पक्राउ परेमा अधिकतम तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। दोस्रो पटक पक्राउ परेमा एक वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। तेस्रो वा सोभन्दा बढी पटक जुवा खेलेर पक्राउ परेमा प्रत्येक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ। साथै, जुवातासमा प्रयोग भएका सवारीसाधन, मोबाइल फोन, नगद रकम तथा अन्य सम्पत्ति राज्यले जफत गर्न सक्ने कानुनी व्यवस्था छ।





About Us
प्रतिक्रिया