काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा (साउन–मंसिर) नेपालको वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले बढेको छ। कुल वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँबाट बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको सरकारी तथ्यांकले देखाएको छ।
यस अवधिमा निर्यातमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा ७३ अर्ब ६५ करोड रुपैयाँ रहेको निर्यात चालु वर्षमा बढेर १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। यो ५८ प्रतिशतभन्दा बढीको वृद्धि हो। निर्यात वृद्धिदर उच्च भए पनि आयात १६ प्रतिशतले बढ्दा व्यापार घाटा भने अझै उच्च नै रहेको छ।
आयाततर्फ, अघिल्लो वर्ष ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ रहेको आयात चालु वर्षको सोही अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यससँगै व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ, जुन करिब १०.५ प्रतिशतको वृद्धि हो।
यद्यपि, निर्यात आयातको तुलनामा छिटो बढेकाले आयात–निर्यात अनुपातमा सुधार देखिएको छ। अघिल्लो वर्ष ८.९८ रहेको आयात–निर्यात अनुपात चालु वर्षको पहिलो पाँच महिनामा घटेर ६.५८ मा झरेको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.०२ प्रतिशतबाट बढेर १३.२० प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८९.९८ प्रतिशतबाट घटेर ८६.८० प्रतिशतमा सीमित भएको छ।
यस अवधिमा प्रमुख आयात हुने वस्तुहरूमा इन्धन, खाद्य तेल, मल, फलाम–इस्पात र विद्युतीय उपकरणहरू अग्रस्थानमा रहेका छन्। तथ्यांकअनुसार कच्चा सोयाबिन तेल सबैभन्दा धेरै आयात हुने वस्तु बनेको छ । यसको आयात मूल्य ४६ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी रहेको छ। त्यसपछि डिजेल ४५ अर्ब ६० करोड रुपैयाँ र पेट्रोल २७ अर्ब ३३ करोड रुपैयाँ बराबर आयात भएको छ।
त्यस्तै, खाना पकाउने ग्यास (एलपीजी) को आयात २२ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। फलामजन्य उत्पादनको आयात २१ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी रहेको छ। स्मार्टफोन आयात १९ अर्ब १३ करोड रुपैयाँ बराबर भएको छ।
कृषि क्षेत्रका लागि महत्त्वपूर्ण डाइमोनियम फस्फेट (डीएपी) मलको आयात १९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ भने सुनको आयात १५ अर्ब ७२ करोड रुपैयाँ बराबर रहेको छ। मल (फर्टिलाइजर ग्रेड) को आयात १२ अर्ब २९ करोड रुपैयाँ र हट–रोल्ड फलाम तथा इस्पातजन्य सामग्रीको आयात ११ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी भएको छ।
औषधिजन्य सामग्रीको आयात ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। हवाई इन्धन (एटीएफ) को आयात ८ अर्ब ३४ करोड रुपैयाँ, कच्चा सनफ्लावर तेल ७ अर्ब ६ करोड रुपैयाँ र अन्य कोइला ७ अर्ब रुपैयाँ बराबर आयात भएको छ। धानको आयात पनि करिब ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।





About Us
प्रतिक्रिया