काठमाडौं – सुनको मूल्य दिनानुदिन नयाँ कीर्तिमान बनाइरहँदा पनि नेपाली उपभोक्ताको सुनप्रतिको आकर्षण भने झन् तीव्र बन्दै गएको छ। पहिले विवाहको सिजनमा मात्र, त्यो पनि मुस्किलले खरिद गरिने पहेँलो धातुप्रति पछिल्लो समय सबै वर्गको चासो बढ्दै गएको देखिन्छ। मूल्य आकासिँदै जाँदा पनि सुनको माग बढ्नुले सार्वजनिक वृत्तमा विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा ९०३ किलो सुन आयात भएको छ । उक्त परिमाणको सुन आयात गर्न १५ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने जम्मा १८५ किलो मात्र सुन आयात भएको थियो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्न सक्ने अड्कलबाजी र लगानीको सुरक्षित माध्यमका रूपमा सुनप्रतिको आकर्षण बढेकाले नेपालीहरूले सुनमा लगानी विस्तार गरेको देखिन्छ। उपभोगसँगै लगानीका रूपमा सुनको माग बढ्नु आयात वृद्धिको मुख्य कारण मानिएको छ।
यसैबीच, नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको छ। यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको छ। हिजो आइतबार छापावाल सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।





About Us
प्रतिक्रिया