मदिरा र बियरको उपभोग बढ्दा चार वर्षमा सरकारले उठाउने अन्तःशुल्क ४९ प्रतिशतले बढ्यो


काठमाडौं – मदिरा र बियरको उपभोग निरन्तर बढ्दै जाँदा पछिल्ला चार वर्षमा सरकारले उठाउने अन्तःशुल्क राजस्व उल्लेख्य रूपमा वृद्धि भएको छ। आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा ८१ अर्ब ५१ करोड रुपैयाँ रहेको अन्तःशुल्क संकलन आर्थिक वर्ष ०८१/८२ मा बढेर १ खर्ब २२ अर्ब २ करोड रुपैयाँ पुगेको छ। चार वर्षको अवधिमा अन्तःशुल्क संकलन करिब ४९ प्रतिशतले बढेको देखिन्छ।

शीर्षकगत रूपमा हेर्दा मदिरा र बियरबाट संकलित अन्तःशुल्कले कुल वृद्धिमा ठूलो योगदान गरेको छ। मदिराबाट संकलित अन्तःशुल्क आर्थिक वर्ष ०७७/७८ मा २४ अर्ब ३२ करोड रुपैयाँ थियो भने ०८१/८२ मा यो बढेर ३२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा केही वर्ष उतार–चढाव देखिए पनि पछिल्लो वर्ष मदिराबाट हुने संकलन उल्लेख्य रूपमा बढेको विभागको तथ्यांकले देखाउँछ।

यस्तै, बियरबाट उठ्ने अन्तःशुल्कमा पनि तीव्र वृद्धि देखिएको छ। आर्थिक वर्ष ०७७/७८ मा २१ अर्ब रुपैयाँ रहेको बियरको अन्तःशुल्क संकलन ०८१/८२ मा ३८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। बियर उपभोगको विस्तारसँगै यस शीर्षकबाट हुने राजस्व वृद्धि अन्तःशुल्क संकलनको मुख्य आधार बन्दै गएको छ।

सुर्तीजन्य पदार्थबाट उठ्ने अन्तःशुल्क पनि क्रमशः बढ्दो क्रममा देखिन्छ। आर्थिक वर्ष ०७७/७८ मा २० अर्ब ३९ करोड रुपैयाँ रहेको सुर्तीजन्य पदार्थको अन्तःशुल्क संकलन ०८१/८२ मा २७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, अन्य औद्योगिक उत्पादनबाट उठ्ने अन्तःशुल्क पनि चार वर्षमा १५ अर्ब ८० करोड रुपैयाँबाट बढेर २३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष ०८०८१ मा कुल अन्तःशुल्क संकलन अघिल्लो वर्षको तुलनामा केही घटेर १ खर्ब २ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको थियो। तर, त्यसपछि ०८१/८२ मा पुनः वृद्धि भई १ खर्ब २२ अर्ब रुपैयाँ नाघेको छ।

विज्ञहरूका अनुसार उपभोगमा आधारित कर संरचनामा मदिरा, बियर र सुर्तीजन्य पदार्थजस्ता वस्तुहरूबाट उठ्ने अन्तःशुल्क राजस्व राज्यका लागि स्थिर आम्दानीको स्रोत बन्दै गएको छ । उपभोगको विस्तारसँगै कर संकलन बढे पनि यसले सार्वजनिक स्वास्थ्य र सामाजिक असरका विषयमा नीति निर्माताहरूलाई थप सचेत हुनुपर्ने चुनौती पनि अघि सारेको छ।


५८ उद्योगलाई १५४ ब्राण्डका मदिरा तथा सूर्तीजन्य उत्पादनको स्वीकृति
आर्थिक वर्ष ०८१/०८२ मा ५८ उद्योगलाई मदिरा तथा सूर्तीजन्य उत्पादनको स्वीकृति दिइएको विभागले जानकारी दिएको छ। जसमा २९ वटा मदिराका, वियरका ४. वाइनका ४, चुरोटका ३, र सूर्तीजन्य वस्तुका १६ र बिडीको २ उद्योग छन्। यी उद्योग प्रतिष्ठानहरूलाई मदिराका १ सय ६, वियरका १०, वाइनका ५, चुरोटका ४ र सूर्तीजन्य वस्तुका २४ र बिडीको ५ गरी जम्मा १५४ वटा ब्राण्डका वस्तु उत्पादन गर्न व्यवसायिक उत्पादनको स्वीकृति प्रदान गरिएको विभागले जानकारी दिएको छ।