प्रभु बैंकको सिङ्गो व्यवस्थापनमाथि नै सीआईबीको निगरानी, को–को तानिँदैछन् ?

गुण एयरलाइन्सपछि अनुसन्धानमा तानियो जानकी मेडिकल कलेज


काठमाडौं – प्रभु बैंकमा भएको कर्जा अपचलनको प्रकरणले बैंकको सिङ्गो व्यवस्थापन नै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को फन्दामा पर्ने जोखिम बढेको छ। वर्षौंदेखि रोकिएको उजुरीमाथिको छानबिन अघि बढेसँगै सिङ्गो व्यवस्थापन नै सीआईबीको फन्दामा पर्ने जोखिम बढेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशाेक शेरचनविरुद्ध सीआईबीमा बैंकिङ्ग कसुरसँग सम्बन्धित उजुरी परेको थियो। साथै उनीमाथि, गुणस्तरहीन धितो राखेर कर्जा प्रवाह गरेको लगायतको उजुरी सीआईबीमा परेको थियो। बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनमाथिको अनुसन्धान अघि बढेपछि लगातार सीईओसँगै सबैजसो उच्च तहका कर्मचारी फन्दामा पर्न थालेका हुन्।

बैंकभित्रै वर्षौंदेखिकाे शङ्कास्पद कारोबार, अवैध रकम हेरफेर र आन्तरिक नियमनका कमजोरीहरू व्याप्त थिए। यहीकारण पक्राउ परेका सीईओमाथिको अनुसन्धानसँगै सिङ्गो व्यवस्थापन नै प्रहरीको उच्च निगरानीमा छ । हालसम्ममा पाँच जना पक्राउ परिसकेका छन् भने थप ३/४ जना पक्राउ पर्ने चरणमा छन्।

पक्राउ पर्नेहरूमा प्रभु बैंकका बहालवाला कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिराम पोखरेल छन्। यस्तै, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, गुण एअरलाईन्सका सञ्चालक राजेन्द्र शाक्य र रेमिट्यान्स शाखा प्रमुख सुजित शाक्य रहेका छन्। पक्राउ परेका मध्य राजेन्द्र शाक्य बाहेक सबै प्रभु बैंकका माथिल्ला तहका कर्मचारीहरू हुन्।

राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत प्रभु बैंकलाई हानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको कसुरमा उनीहरू पक्राउ परेका हुन्। साथै, सीआईबीको अनुसन्धानका क्रममा बैंकका अरू कर्मचारीहरू पनि अनुसन्धानका दायरामा तानिएको सीआईबीका प्रमुख मनोज कुमार केसीले जानकारी दिए।

सुरुवाती चरणमा सीमित केही मुद्दामै केन्द्रित रहेको अनुसन्धान पछिल्लो समय भित्रसम्म पुग्न थालेको छ। यसबाहेक, थप ३/४ जना पक्राउका लागि सीआईबीले पक्राउ पुर्जी पाइसकेको बताइन्छ। 

साथै, प्रभु म्यानेजमेन्टलाई नियम विपरीत सुपर एजेन्ट बनाइ रेमिट्यान्स कारोबार गर्न एडभान्स रकम उपलब्ध गराएको र सो कम्पनीसँग कारोबार स्थगित भएपछि पनि राष्ट्र बैंकको निर्देशन विपरीत उक्त रकम लामो समयसम्म प्रयोग गर्न दिएको समेत भेटिएको छ। यसबाट प्रभु बैंकलाई करिब ८ करोड ९३ लाख १९ हजार रूपैयाँ बराबरको हानी भएको सीआईबीले जनाएको छ।

यस घटनामा संलग्न बैंकका थप व्यक्तिहरू सीआईबीको निगरानीमा रहेका छन्। सीआईबीको निगरानीमा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मि पन्त, कार्यवाहक सीईओ निरज लम्साल, जानकी कलेजका अध्यक्ष ओपी पाण्डे, प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सकी अध्यक्ष शिक्षा भट्टचन लगायत रहेको बताइएको छ।