भिजिट भिसा प्रकरण: सहसचिव भट्टराई र अधिकृत अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध  विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण  मुद्दा दायर गरेको छ। 

उजुरीका आधारमा गरिएको विस्तृत अनुसन्धानमा भट्टराईले २०८१ असोज २३ गतेदेखि २०८२ जेठ ७ गतेसम्म प्रमुख अध्यागमन अधिकृतका रूपमा कार्यरत रहने क्रममा भिजिट तथा पर्यटन भिसाका यात्रुहरूलाई प्रस्थानका लागि आवश्यक कागजात अध्यागमन प्रणालीमा अपलोड गर्ने प्रक्रिया नै अवहेलना गरेको,यात्रुहरूलाई हैरानी दिँदै सेटिङमार्फत घुस असुल गर्ने काम गरेको र सो कार्यमा बाह्य व्यक्तिहरूसँग मिलेमतो गरेको प्रमाणित भएको अख्तियारले जनाएको छ।

अख्तियारले तत्कालीन सहसचिव तीर्थराज भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

अख्तियारका अनुसार भट्टराईले ग्रिनलाइन होलिडेजका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेजका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइनका सञ्चालक राम खड्का, सहायक कविता पौडेल र जग्गा कारोबारी खेम प्रसाद सुवेदीसँग मिलेर भिजिट भिसामा विदेश जाने यात्रुहरूको नामावली संकलन गर्ने, डायरीमा टिपोट राखी घुस रकमको हिसाबकिताब राख्ने तथा अध्यागमन भित्रै रकम बाँडफाँड गर्ने गतिविधि सञ्चालन गरेको खुलेको छ।

अख्तियारका अनुसार भट्टराई र उनको समूहले २५७ जना नेपाली नागरिकलाई भिजिट भिसामा ‘सेटिङ’ गरी विदेश पठाएको, सो प्रक्रियामा मनपरी घुस असुल गरेको तथा सो रकम विभिन्न माध्यमबाट चलायमान गराइएको पुष्टि भएको छ। अनुसन्धानमा भट्टराईले बालकृष्ण खड्कासँग ११८ पटक, दिपक भण्डारीसँग २५३ पटक, कविता पौडेलसँग ८५८ पटक तथा खेम सुवेदीसँग ५३ पटक फोन सम्पर्क गरेको, साथै यात्रु सूची, रकमको लेनदेन र उपहारसम्बन्धी बारम्बार मेसेज आदानप्रदान गरेको प्रमाणित भएको छ।

अख्तियारका अनुसार प्राप्त प्रमाण, आर्थिक लेनदेनका विवरण, डिजिटल संवाद तथा प्रत्यक्ष गतिविधिले यी व्यक्तिहरूको अवैध समन्वय, घुस असुली तथा अवैध सम्पत्ति परिचालनमा संलग्नता पूर्ण रूपमा पुष्टि भएको छ।