हात्तीको दाह्रा अवैध ओसारपसार गरेको घटनामा ६ वर्ष कैद तोकिएका फरार कैदी पुनः पक्राउ


काठमाडौं – जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फारार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। संरक्षित वन्यजन्तु हात्तीको दाह्रा अवैध रूपमा ओसारपसार तथा बिक्री–वितरण गरेको मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका सबिन गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। 

गोरखा जिल्ला, सिरानचोक–८ घर भई हाल काठमाडौं महानगरपालिका तारकेश्वर–मनमैजु बस्दै आएका २२ वर्षीय गुरुङलाई प्रहरीको टोलीले तारकेश्वरको मनमैजु क्षेत्रबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको काठमाडौं प्रहरीले जनाएको छ।

रुपेश कुवँरसहित उनलाई वन्यजन्तु अपराधसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले ६ वर्ष कैद सजाय तोकेको थियो। अदालतको फैसलाअनुसार उनी केन्द्रीय कारागारमा सजाय भुक्तान गर्दै आएका थिए। प्रहरीले गुरुङलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेश गरिएको सीआईबीले जनाएको छ।