कुसुम लामाको दावी, भट्टचन र शेरचनको निर्देशनमा नै गएको थियो विभिन्न कम्पनीमा प्रभु म्यानेजमेन्टको पैसा


काठमाडौं – प्रभु म्यानेजमेन्ट प्रालिको ठगी प्रकरणमा कसुम लामाले बयानका क्रममा देवी प्रकाश भट्टचन, अशोक शेरचनको निर्देशनमा लाजिम्पाट अपार्टमेन्ट, राम जानकी मेडिकल कलेज, सिम्रिक एयर, प्रभु टिभी, हेल्लो पैसा जस्ता कम्पनीहरुमा प्रभु म्यानेजमेन्टको पैसा गएको बताएकी छिन् ।

देवी प्रकाश भट्टचन र अशोक शेरचनको नियत प्रभु ‘म्यानेजमेन्टलाई बैंक र सहकारीको रकमहरूको भारी बोकाएर भाग्छन् भन्ने थाहा नभएर आएको चेकहरूमा मैले दस्तखत गरेको उनले बताइन् । उनले खातामा आफ्नो र दक्ष पौडेलको दस्तखत चल्थ्यो तर सम्पूर्ण कारोबार देवी प्रकाश भट्टचनको निर्देशनमा लेखा प्रमुख गणेश घिमिरेले गर्ने गरेका बताएकी छिन् ।

उनले प्रभु म्यानेजमेन्टबाट विप्रेषण बापतको भुक्तानी दिने रकम तथा सम्झौता भएका प्रत्येक एजेन्ट सहकारीसँग डिपोजिट स्वरूप लिइएको रकम आफूखुसी अपचलन गर्न नमिल्ने बताएकी छिन् । उनले भनिन्‘ सहकारीबाट मात्र होइन अन्य निकायबाट समेत कम्पनीमा आएको रकमहरू आफूखुसी अपचलन गर्न मिल्दैन । कम्पनीमाको रकम प्रयोग भएको भए सोको ब्याज सहित फिर्ता गर्नु पर्ने हुन्छ । तर, देवी प्रकाश भट्टचन, अशोक शेरचनको निर्देशनमा लाजिम्पाट अपार्टमेन्ट, राम जानकी मेडिकल कलेज, सिम्रिक एयर, प्रभु टिभी, हेल्लो पैसा जस्ता कम्पनीहरुमा प्रभु म्यानेजमेण्टको पैसा गएको हो ।’

उनले कम्पनीमा सुरुमा लगानी भएको पुजी एक करोड रुपैंया बाहेक थप पुँजी ‘वृद्धि गर्दा कुनै पनि सेयर धनीले आफ्नो व्यक्तिगत रकम नहालेका बताएकी छिन् । उनकाअनुसार कम्पनीमा रेमिट्यान्स बापत आएको रकम र एजेन्ट सहकारीहरूबाट उठाइएको धरौटी रकमबाट नै पुँजी वृद्धि गरिएको हो ।

लामाले बयानका क्रममा भनिन्,‘ प्रभु टेक्नोलोजी प्रालि (प्रभु पे) भन्ने कम्पनी २०७१–०९–१५ गते दर्ता भई घाटामा सञ्चालन भएको थियो । त्यस कम्पनीमा देवी प्रकाश भट्टचनको ६० प्रतिशत र प्रभु म्यानेजमेण्ट कम्पनीको ४० प्रतिशत शेयर लगानी रहेको थियो । जसको पुँजी रकम १० करोड रहेको थियो । कम्पनी घाटामा सञ्चालन भएको हुँदा देवी प्रकाश भट्टचनले आफू प्रभु बैंकको अध्यक्ष भएको र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँग प्रभु पेलाई प्रभु बैंकले खरिद गर्ने कुरा गरेको हुनाले प्रभु पेबाट आफ्नो नाम अध्यक्ष र सेयर होल्डरबाट हटाएमा प्रभु बैंकले खरिद गर्न सक्छ भनेको हुँदा देवी प्रकाश भट्टचनको नाम हटाई दिन मलाई निर्देशन दिएका थिए ।’