निर्वाचन तयारीबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छिन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार (भोलि) अपराह्न ४ बजेका लागि बोलाइएको हो।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो। भोलिको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई मात्रै बोलाइएको छ।

बैठक माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित रहेर छलफल हुनेछ। सरकारले निर्वाचनको मिति घोषणा गरेपनि वातावरण बनाउन नसकेको भन्दै दलहरूले असन्तुष्टि जनाउन थालेपछि प्रधानमन्त्रीले सक्रियता बढाएकी हुन्।