ठगी मुद्दामा ७ करोड बिगो भएका फरार प्रतिवादी पक्राउ 


काठमाडौं – ठगीसम्बन्धी कसूर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१६, कपिलेश्वर बस्ने ३४ वर्षीय रतन ठाकुर रहेका छन्।

उनलाई ठगी मुद्दामा ७ करोड बिगो तोकिएको थियो। हैदर अलीले दायर गरेको उजुरीका आधारमा नेपाल सरकार वादी र रतन ठाकुर प्रतिवादी रहेको उक्त मुद्दामा जिल्ला अदालत सुनसरीले पक्राउ अनुमति जारी गरेको थियो।

ठाकुर सुनसरीको इटहरीस्थित ‘अन्जनी हार्डवेयर एण्ड सप्लायर्स’ सञ्चालन गर्दै आएका थिए। उनी पक्राउ आदेश जारी भएपछि फरार रहेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–३१, बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ।