त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनचाँदी, मोतीको गरगहनासहित दुई जना पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनासहित २ जना अमेरिकी नागरिकहरू मंगलबार राति पक्राउ परको छन्। पक्राउ पर्नेहरूमा ३२ वर्षीय  सुनिल शंकर र ३१ वर्षीया  बिनिता गजमेर रहेका छन्।  

एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै संयुक्त राज्य अमेरिका जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा शंकरको लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ३१ ग्राम ४ सय मिलिग्राम, चाँदी जस्तो देखिने धातुका गरगहना करिब १ किलो ३ सय ४६ ग्राम र मोतीको जस्तो देखिने धातुका गरगहना करिब ५३ ग्राम तथा बिनिताको लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ९१ ग्राम ७ सय ५ मिलिग्राम फेला पारी पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ।