सीआईबीमा शेरचनविरुद्ध एक वर्षदेखि बैंकिङ्ग कसुरको उजुरी, कहिले खुल्छ फाइल ?


काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध एक वर्ष अघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो। बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचनलाई पक्राउ गरेर आवश्यक अनुसन्धानपछि थुनामुक्त गरिसकेपछि यो विषयले थप चर्चा पाएको हो।

सीईओ शेरचनविरुद्ध एक वर्ष अघि नै बैकिङ्ग सम्पत्तिमा हानी नोक्सानी पुग्ने गरी काम गरेको भन्दै उजुरी परेको थियो। यस विषयमा उनीविरुद्ध २०८१ चैत महिनामा उजुरी परेको थियो। शेरचनविरुद्धको उजुरी यतिमा मात्रै सीमित छैन। त्यसअघि अर्थात् सोही वर्ष २०८१ भदौ ५ गते ७२७ नम्बरमा पनि उजुरी दर्ता भएको थियो। उक्त उजुरीमा सेन्चुरी बैंकको रकम हिनामिनामा मिलेमतो रहेको आरोप लागेको थियो।

यता, उनीविरुद्ध एउटै कम्पनीमा २ कार्यकाल भन्दा बढी सीईओ बनेको विषयमा समेत उजुरी परेको थियो। तर, त्यस उजुरीमा शेरचनविरुद्ध उच्च अदालत पाटनमा यस विषयमा समेत मुद्दा परेको थियो। उच्च अदालतले बैंक मर्जरमा जानुअघिको सीईओ भएकाले गर्दा केही रोकतोक नहुने भन्दै आदेश दिँदा उनीविरुद्धको यो मुद्दामा भने शेरचनले उन्मुक्ति पाएका छन्।

तर, सीआईबीमा परेको उजुरीमा भने अहिलेसम्म अनुसन्धान भएको छैन। शक्ति र सत्ताको आडमा रहेर कानूनी राज्यको धज्जी उडाउँदै कानूनी दायरा र छानबिनभन्दा पर बसिरहेका छन्। यद्यपि, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको प्रभु बैंकका पूर्व अध्यक्ष देवी भट्टचनको मुद्दामा छानबिनका क्रममा प्रभु बैंकमा पनि छापा मारेर शंकास्पद फाइलहरू लिइसकेको छ। यसकारण आवश्यक परेको खण्डमा सीआईबीले जुनसुकै बेला शेरचन विरुद्धका फाइलहरू पनि खोल्न सक्ने आशंका सुरु भएको छ।

शेरचनले २०७१ सालमै प्रभु बैंकको २ अर्ब ऋण प्रवाहमा घोटाला गरेको तथ्य बाहिरिएको थियो। सो समयमा पनि केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको उजुरी नै थियो। उनीविरुद्ध तत्कालीन समयमा ब्युरोमा जानकी मेडिकल कलेजका सञ्चालक अर्थात् नातामा ससुरा पर्नेलाई अर्बौँ रुपैयाँ ऋण प्रवाह गरेको विषयमा सीआईबीमा सामान्य छानबिन भएको थियो।

शेरचन नेपाल बंगलादेश बैंक, प्रभु फाइनान्स र प्रभु विकास बैंक हुँदै उनी प्रभु बैंकको सीईओ बनेका थिए। सेञ्चुरी बैंक प्राप्ति गरेर प्रभुले एकीकृत कारोबार गरेपछि उनी हालसम्म लगातार रुपमा सीईओका रुपमा कार्यरत छन्। यता, एउटा बैंकमा २ कार्यकालभन्दा बढी सीईओ हुन नपाउने व्यवस्था नै छ। तर, केही दिनअघि मात्रै पक्राउ परेका अध्यक्ष देवीका प्रिय पात्रका रुपमा रहेकाले उनी २ कार्यकालभन्दा बढी समय सीईओ बनेका हुन्।