काठमाडौं – नेपाल राष्ट्र बैंकले बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार औधोगिक क्षेत्रमा बैंकहरुको कर्जा लगानी १३/८ प्रतिशतले वृद्धि भई १२ खर्ब ११ अर्ब ५ करोड रूपैयाँ पुगेको छ।
गत वर्ष यस्तो कर्जा ११.५ प्रतिशतले वृद्धि भई १० खर्ब ६३ अर्ब ९४ करोड रूपैयाँ पुगेको उल्लेख गरिएको छ। केन्द्रीय बैंकले रिपोर्टमा उल्लेख गरे अनुसार बागमती प्रदेशमा ११९ स्थानीय तह रहेका छन्। आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशमा रहेका स्थानीय तहहरूमध्ये छनौट गरिएका ५ स्थानीय तहहरू (काठमाडौं, भक्तपुर, ललितपुर, भरतपुर, हेटौंडा) को कुल प्राप्ति २२ अर्ब २२ करोड रहेको रूपैयाँ रहेकाे छ । जुन गत आर्थिक वर्षको तुलनामा ४.१ प्रतिशतले बढी हो ।
उक्त स्थानीय तहहरूले करतर्फ ११ अर्ब ४० करोड रूपैयाँ, अनुदानतर्फ ७ अर्ब ३२ करोड रूपैयाँ र अन्य राजस्वतर्फ ३ अर्ब ४४ करोड रूपैयाँ रकम प्राप्त गरेका छन् । गत आर्थिक वर्षको तुलनामा यी स्थानीय तहहरूले प्राप्त गरेको कर ३.५ प्रतिशतले, अनुदान ५.९ प्रतिशतले र अन्य राजस्व २.६ प्रतिशतले वृद्धि भएको छ ।

यस प्रदेशमा प्रवाह भएको कुलकर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३६.४ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ११ खर्ब १९ अर्ब३० करोड रुपैयाँ (९२.४ प्रतिशत) कर्जा लगानी रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम १३ करोड रुपैयाँ कर्जा लगानी रहको छ । औद्योगिक प्रतिष्ठानहरूको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको अनुमान छ ।
कुल औद्योगिक कर्जामा विद्युत्, ग्याँस तथा पानी उद्योगको हिस्सा ३६.५ प्रतिशत, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगको हिस्सा ३१.५ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगको हिस्सा १५.० प्रतिशत, निर्माण उद्योगको हिस्सा १२.८ प्रतिशत, धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगको हिस्सा ३.५ प्रतिशतलेर खानी उत्पादनसम्बन्धी उद्योगकोहिस्सा ०.७ प्रतिशत रहेकाे छ ।
कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा २२.०९ प्रतिशतले, विद्युत्, ग्याँस तथा पानीमा २१.१ प्रतिशतले, निर्माण उद्योगमा १५.३० प्रतिशतले र गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ४.९० प्रतिशतले कर्जा बढेको छ भने खानी उत्पादनसम्बन्धी उद्योगमा १.३४ प्रतिशतले र धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगमा २.५८ प्रतिशतले कर्जा घटेको छ ।






About Us
प्रतिक्रिया